काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर व्यापक तयारी गरिरहेको बताएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाढी, पहिरो लगायत प्राकृतिक विपद्का घटनामा नागरिकको सुरक्षा सुनिश्चित गर्न हेलिकप्टरदेखि सुरक्षा निकायका सबै स्रोत साधन परिचालन गरिने बताए ।
गृहमन्त्री गुरुङले विपद् व्यवस्थापनका लागि सुरक्षा निकायहरूलाई परिचालन गरिसकिएको जानकारी दिँदै औपचारिक निरीक्षणभन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा, उद्धार र राहतलाई केन्द्रमा राखेर काम गरिने बताए । सम्भावित विपद्को अवस्थामा छिटो प्रतिक्रिया दिन सक्ने गरी आवश्यक संयन्त्र निर्माण गरिएको उनको भनाइ छ ।
उनले अघिल्ला सरकारले विपद् व्यवस्थापनमा गरेका सकारात्मक कामलाई निरन्तरता दिँदै देखिएका कमजोरी सुधार गरेर अघि बढ्ने नीति लिइएको बताए ।
मनसुनका बेला पूर्व पश्चिम राजमार्ग तथा निर्माणाधीन सडक खण्डहरूमा बाढी र पहिरोका कारण यातायात अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरिरहेको उनले बताए ।
गृहमन्त्रीका अनुसार सडक अवरोध हटाउन आवश्यक डोजर तथा उपकरणहरूको अवस्थिति तत्काल पत्ता लगाउन सकिने विशेष डिजिटल प्रणाली (एप) विकास गरिएको छ। उक्त प्रणालीमार्फत कुनै स्थानमा पहिरो वा सडक अवरोध भएमा नजिकको उपकरण तत्काल परिचालन गरी सडक खुलाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
उनले विगतमा जस्तै यात्रुहरू लामो समय सडकमा अलपत्र पर्ने अवस्था आउन नदिने गरी तयारी गरिएको दाबी गरे । विगतका विपद्बाट प्राप्त अनुभवका आधारमा यसपटक अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
गृहमन्त्री गुरुङले प्रहरी तथा अन्य सुरक्षा निकायलाई नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिइएको जानकारी दिँदै अपराध नियन्त्रण, सुशासन प्रवर्द्धन र सेवाको गुणस्तर सुधारमा कुनै सम्झौता नगर्ने बताए । कार्यसम्पादनका आधारमा मूल्यांकन र पदोन्नति गर्ने नीति लागू गरिएको उल्लेख गर्दै राजनीतिक दबाब वा पहुँचका आधारमा हुने पदोन्नतिको प्रवृत्ति अन्त्य गरिने उनको दाबी छ ।
उनले नागरिकको सुरक्षा, विपद् प्रतिकार्य तथा प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर गृह मन्त्रालय अघि बढिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया