भुटानी शरणार्थीको समस्या समाधान गर्न हर्क साम्पाङको माग

लोकपथ
56
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङले दशकौँदेखि शरणार्थी जीवन बिताइरहेका भुटानी नागरिकहरूको समस्याप्रति राज्य गम्भीर बन्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले स्वदेश फर्कन नसकेर शरणार्थीका रूपमा बाँचिरहेका भुटानी नागरिकलाई स्वदेश फिर्ता गराउने पहल गर्न सरकारसँग माग गरे । उनले नेपालमा रहेका भुटानी शरणार्थीहरूको मानवीय समस्याप्रति समेत ध्यान दिन आग्रह गरे ।

साम्पाङले तेस्रो मुलुकमा रहेका आफ्ना परिवारका सदस्यहरूसँग पुनर्मिलनको माग गरिरहेका शरणार्थीहरूको समस्यामा सम्बन्धित मन्त्रालयले गम्भीरता देखाउनुपर्ने बताए । उनले शरणार्थीहरूलाई स्वदेश फिर्ता पठाउने वा परिवार मिलनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरे ।

यसै क्रममा उनले प्रधानमन्त्रीले दिएको एक अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ भन्दै त्यसलाई प्रधानमन्त्री स्वयंले सदनमा उपस्थित भएर सच्याउनुपर्ने माग दोहोर्‍याए । उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन आफूहरूले निरन्तर माग गर्दै आए पनि सुनुवाइ नभएको उनको भनाइ थियो ।

साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्तिले सदनको गरिमा नबढाएको टिप्पणी गर्दै त्यसबारे स्पष्टिकरण दिनुपर्ने बताए ।

त्यसैगरी, रक्षा मन्त्रालयअन्तर्गतको बजेटमाथिको छलफलमा विभागीय मन्त्री अनुपस्थित रहेको र मन्त्रालयको बजेट विवरण समेटिएको ‘रेड बुक’ सांसदहरूलाई उपलब्ध नगराइएको भन्दै उनले आपत्ति जनाए । रक्षा मन्त्रालयको खर्च विवरण समावेश भएको पुस्तक किन वितरण नगरिएको हो भन्नेबारे सभामुखमार्फत सरकारसँग जवाफ माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?