रास्वपा महाधिवेशनस्थमा जर्मन प्रविधिको डोम निर्माण गरिँदै

लोकपथ
28
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को यही असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि उद्घाटनस्थल निर्माण तीव्र गतिमा थालिएको छ ।

भरतपुर महानगरपालिका–१० स्थित गेष्टहाउस चौरमा उद्घाटन समारोह आयोजना गर्ने तयारीसँगै संरचना निर्माणको काम तीव्र पारिएको हो ।

उद्घाटन सत्रका लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गर्न लागिएको छ । डोमको छानो विशेष वाटरप्रुफ टेन्साइल फेब्रिकबाट तयार गरिनेछ, जसले घाम, पानी र हावाको प्रभावबाट सहभागीलाई सुरक्षित राख्ने जनाइएको छ ।

मिडिया स्पेस सोलुसन काठमाडौंले सो काम गरिरहेको छ । कम्पनीका प्रबन्ध निर्देशक सिर्जल भट्टराईका अनुसार करिब तीन हजार वर्गमिटर क्षेत्रफलमा तीनवटा डोम जोडेर एउटै विशाल हल निर्माण गरिनेछ । उक्त संरचनाभित्र एलइडी स्क्रिन, पंखा, कुलर तथा कुर्सी व्यवस्थापनका लागि पर्याप्त स्थान रहनेछ ।

उनका अनुसार डोमभित्रबाट सहभागीले सहज रूपमा मञ्च अवलोकन गर्नसक्ने व्यवस्था मिलाइनेछ । अन्तर्राष्ट्रियस्तरका ठूला कार्यक्रममा प्रयोग हुने प्रविधिअनुसार बलियो, सुरक्षित तथा मौसम प्रतिरोधी संरचना निर्माण भइरहेको उनले बताए ।

‘महाधिवेशन नजिकिएकाले निर्माण कार्यलाई तीव्रता दिएका छौँ,‘उनले भने ।

महाधिवेशनमा सहभागी तथा आगन्तुकका सवारीसाधनका लागि केन्द्रीय बस टर्मिनल क्षेत्रमा पार्किङ व्यवस्थापन गरिने केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए ।

रास्वपाले उद्घाटन सत्रमा राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताका साथै छिमेकी मुलुकका प्रतिनिधिलाई समेत आमन्त्रण गरेको जनाएको छ ।

महाधिवेशनको बन्दसत्रमा करिब तीन हजार प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनको बन्दसत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?