बेवारिसे अवस्थामा भेटिएका दुई भारतीय कार रूपन्देहीमा बरामद

लोकपथ
56
Shares

भैरहवा । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ शहीदपथ क्षेत्रबाट प्रहरीले बेवारिसे अवस्थामा रहेका दुई वटा भारतीय नम्बर प्लेटका कार बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रूपमा पार्किङ गरेर छाडिएका ती सवारीसाधन फेला पारी नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार बरामद गरिएका सवारीसाधनमध्ये युपी ५३ बिडी ००२९ नम्बरको हुन्डाई कम्पनीको कार र युपी ५३ डिएफ ६९८० नम्बरको महिन्द्रा कम्पनीको कार रहेका छन् । दुवै सवारीसाधनको अनुमानित बजार मूल्य करिब २७ लाख रुपैयाँ रहेको बताइएको छ ।

रूपन्देही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले बरामद गरिएका दुवै कार आवश्यक कानुनी प्रक्रिया पूरा गर्न भैरहवा भन्सार कार्यालय, बेलहियामा बुझाइएको जानकारी दिए ।

प्रहरीले ती सवारीसाधन बेवारिसे अवस्थामा उक्त स्थानमा कसरी आइपुगे भन्ने विषयमा अनुसन्धान जारी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?