सञ्चार क्षेत्रको सुधारमा सरकारको सक्रियता, ७७ वटै सदरमुकाममा एफटीटीएच सेवा

लोकपथ
42
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तर सुधार र पूर्वाधार विस्तारलाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रको आधुनिकीकरण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

उनका अनुसार ७७ वटै जिल्ला सदरमुकाममा ‘फाइबर टु द होम’ (एफटीटीएच) सेवा विस्तार भइसकेको छ । अब उक्त सेवा सबै नगरपालिका तथा गाउँपालिकाका वडासम्म पुर्‍याउने प्रक्रिया अघि बढाइएको उनले बताए ।

मन्त्री तिमिल्सिनाले मध्यपहाडी लोकमार्गलगायत प्रमुख सडक खण्डमा अप्टिकल फाइबर विस्तारको काम तीव्र गतिमा भइरहेको जानकारी दिए । हालसम्म ७६३ स्थानमा मोबाइल नेटवर्कका पूर्वाधार सञ्चालनमा आएको र आगामी आर्थिक वर्षमा थप १ हजार ५९७ वटा बीटीएस तथा ई–नोड बी खरिद प्रक्रिया अघि बढाइने उनले बताए ।

हुलाक सेवाको आधुनिकीकरण गरिँदै

हुलाक सेवा अझै पुरानै शैलीमा सीमित रहेको सांसदहरूको गुनासो सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले हुलाकलाई प्रविधिमैत्री, छिटो र प्रभावकारी बनाउने काम भइरहेको बताए ।

आगामी आर्थिक वर्षमा थप ५० वटा स्थानीय तहका हुलाक कार्यालयमा सूचना प्रविधि पूर्वाधार निर्माणका लागि २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट (एनडीटीपी) मार्फत हुलाक सेवाको आधुनिकीकरण गरिने भन्दै उनले हाल ६२ जिल्लामा हुलाकमार्फत राहदानी, सवारी चालक अनुमति पत्र र लालपुर्जालगायत महत्वपूर्ण कागजात घरदैलोमै पुर्‍याउने सेवा सञ्चालन भइरहेको बताए ।

चलचित्र क्षेत्रलाई उद्योगका रूपमा विकास गर्ने लक्ष्य

मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रको प्रवद्र्धनका लागि सरकारले नीतिगत सुधार र पूर्वाधार निर्माणमा जोड दिएको बताए ।

चलचित्रसम्बन्धी विधेयक संसदीय समितिमा छलफलमा रहेको उल्लेख गर्दै उनले चलचित्रलाई उद्योगका रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

काभ्रेको बनेपामा निर्माणाधीन अत्याधुनिक छायांकन स्टुडियो आगामी वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको र सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि पहिलोपटक ३ करोड ५० लाख रुपैयाँ अनुदानको व्यवस्था गरिएको उनले जानकारी दिए ।

लाइसेन्स छपाइको ब्याकलक हटाउने तयारी

सुरक्षण मुद्रण क्षेत्रमा देखिएका समस्या समाधान गर्दै उल्लेखनीय सुधार गरिएको मन्त्री तिमिल्सिनाको दाबी छ ।

उनका अनुसार २९ लाखमध्ये बाँकी रहेका १८ लाख सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ भइसकेको छ । चालु आर्थिक वर्षभित्र सम्पूर्ण ब्याकलक अन्त्य गर्ने तयारी भइरहेको उनले बताए ।

आगामी आर्थिक वर्षदेखि माग हुनेबित्तिकै लाइसेन्स उपलब्ध गराउन सकिने गरी सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित बनाइएको र केन्द्रका लागि ३२ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

एआई र साइबर सुरक्षामा बजेट प्राथमिकता

सांसदहरूले उठाएको बजेट अभाव र पारदर्शिताको प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले कृत्रिम बुद्धिमत्ता ९एआई०, साइबर सुरक्षा र डेटा अर्थतन्त्रजस्ता डिजिटल क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए ।

३ अर्बभन्दा बढी बजेट अबण्डा राखिएको भन्ने प्रश्नको खण्डन गर्दै उनले मन्त्रालयको बजेटका सबै शीर्षक एलएमबीआईएस प्रणालीमा पारदर्शी रूपमा प्रविष्ट गरिएको र बजेट दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री तिमिल्सिनाले सांसदहरूका सुझावलाई कार्यसम्पादन सुधारको आधार बनाउँदै सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा थप प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?