कुवेतका जेलमा रहेका नेपाली महिलाको तत्काल उद्धार गर्न राप्रपाको माग

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले कुवेतका विभिन्न जेलमा रहेका तथा अलपत्र परेका नेपाली महिलाहरूको तत्काल उद्धार गर्न सरकारसँग माग गरेकी छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ओलीले वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेका नेपाली महिलाहरू अमानवीय पीडा भोग्न बाध्य भएको बताउँदै उनीहरूको अवस्था अत्यन्त दयनीय रहेको उल्लेख गरिन् ।

उनले कुवेतमा समस्यामा परेकी नेपाली चेली शर्मिला दर्जीलाई लामो प्रयासपछि उद्धार गरी स्वदेश फर्काउन सफल भएको जानकारी दिँदै त्यहाँ रहेका अन्य नेपाली महिलाहरूको अवस्था पनि निकै कारुणिक रहेको बताइन् ।

सांसद ओलीका अनुसार आफूले उक्त विषय तीन पटकसम्म संसदमा उठाएको र नेपाली राजदूतावाससँग निरन्तर समन्वय गरेपछि मात्रै शर्मिला दर्जीलाई नेपाल फर्काउन सम्भव भएको हो ।

उनले भनिन्, ‘नेपाल फर्कने क्रममा बोर्डिङ पास लिइसकेपछि पनि त्यहाँका तस्कर र सम्बन्धित निकायले उनलाई रोकेर जेल पठाएका थिए। दूतावाससँग पुनः समन्वय गरी कडा रूपमा विषय उठाएपछि मात्र उनलाई रिहा गरियो र हिजो स्वदेश फर्काइयो ।’

उद्धार गरिएकी शर्मिला दर्जीको भनाइ उद्धृत गर्दै सांसद ओलीले कुवेतका जेलहरूमा अझै सयौं नेपाली महिलाहरू रहेको र तीमध्ये केहीले मानसिक सन्तुलन समेत गुमाइसकेको जानकारी प्राप्त भएको बताइन् ।

अवैध माध्यमबाट कुवेत पुगेका करिब ६५ हजार नेपाली महिलाहरू जोखिममा रहेको दाबी गर्दै उनले उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउने वातावरण तत्काल बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?