काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’ समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माण गर्न आह्वान गरेका छन् ।
चीनको चारदिने औपचारिक भ्रमणका क्रममा उनले बुधबार बेइजिङ स्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै नेपालको आर्थिक अवसर र जनसाङ्ख्यिकीय सामर्थ्यबारे प्रकाश पारे । साथै, लगानीमैत्री र व्यवसायमैत्री वातावरण निर्माण गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सम्मेलनका अवसरमा मन्त्री खनालले चिनियाँ व्यवसायी, उद्यमी तथा लगानीकर्तासँग भेटवार्ता गरेका थिए । कार्यक्रममा नेपाल लगानी बोर्ड का प्रतिनिधिले नेपालमा उपलब्ध लगानीका सम्भावनाबारे प्रस्तुतीकरण गरेका थिए ।
भ्रमणकै क्रममा मन्त्री खनालले वाङ हुनिङ सँग भेटवार्ता गरेका थिए। भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको नेपाली दूतावासले जनाएको छ ।
मन्त्री खनालले बेइजिङस्थित श्वेत स्तूप को अवलोकन पनि गरेका थिए । नेपालको राष्ट्रिय विभूति अरनिको द्वारा डिजाइन गरिएको उक्त सम्पदा नेपाल–चीन मित्रताको प्रतीक मानिन्छ ।
त्यसैगरी, उनले चिनियाँ तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिसँग अन्तरक्रिया गर्दै नेपालको परराष्ट्र नीति, नेपाल–चीन सम्बन्ध, नवगठित सरकारका प्राथमिकता तथा अन्तरराष्ट्रिय समुदायसँग नेपालको संलग्नताबारे धारणा व्यक्त गरेका थिए ।
परराष्ट्रमन्त्री खनाल वाङ यी को निमन्त्रणामा आइतबार चीन पुगेका थिए । उनको भ्रमण भोलि सम्पन्न हुने तथा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया