काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्को रेकर्डबाट उक्त भनाइ हटाउन माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय अखण्डतामा प्रश्न उठाउने भन्दै त्यसलाई सच्याउनुपर्ने आवश्यकता रहेको बताएका हुन् । उनले संसद्मा उपस्थित भएर प्रधानमन्त्रीले आफ्नो भनाइ स्पष्ट पार्न र आवश्यक परे सच्याउनुपर्नेमा जोड दिए ।
बैठकमा बोल्दै सांसद राईले सीमा क्षेत्रमा हुने डुबान, भूमिहीन नागरिकका समस्या तथा माइतीघर मण्डलामा जारी आन्दोलनका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
उनले रौतहटको गौर आसपास क्षेत्रमा भारतले लालबकैया र बागमती नदीमा उच्च बाँध निर्माण गरेका कारण नेपाली भूभागमा डुबान हुने गरेको गुनासो आएको बताए । यस विषयमा सरकारको ध्यान जानुपर्ने उनले आग्रह गरे ।
त्यसैगरी उनले भूमि व्यवस्था मन्त्रालयको ध्यानाकर्षण गराउँदै सप्तरीको राजविराजमा करिब ८५ वर्षदेखि बसोबास गर्दै आएका नागरिकहरू धनीपुर्जाको माग गर्दै एक महिनादेखि आन्दोलनमा रहेको जानकारी दिए । कर तिर्दै आए पनि जग्गाधनी प्रमाणपत्र नपाउनु अन्यायपूर्ण भएको उनको भनाइ थियो ।
सांसद राईले सुनसरी क्षेत्र नम्बर-१ अन्तर्गत रामधुनी-७ को करिब ६४ बिघा जग्गामा ६६ वर्षदेखि बसोबास गर्दै आएका स्थानीयले समेत अझै लालपुर्जा नपाएको र नक्कली जग्गाधनी खडा गरी उनीहरूलाई दुःख दिने काम भइरहेको आरोप लगाए ।
उनले यी सबै विषयमा निष्पक्ष छानबिन आवश्यक रहेको भन्दै सरकारले तत्काल कदम चाल्नुपर्ने माग गरे । साथै, माइतीघर मण्डलामा विभिन्न मागसहित लामो समयदेखि धर्नामा बसेका नागरिकहरूको समस्या समाधान गर्न गृहमन्त्रीलाई आग्रह गरे ।
अन्त्यमा सांसद राईले प्रधानमन्त्रीले संसद्मा उपस्थित भई आफ्नो अभिव्यक्ति स्पष्ट पार्न र जनसरोकारका मुद्दामा सरकारले ठोस कदम चाल्ने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया