काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संगठन सधैँ शहीद परिवारको साथमा रहेको बताएका छन् । उनले शहीदले बगाएको रगत र पसिनाले गर्दा आज संगठन यहाँसम्म आइपुगेको स्मरण गर्दै शहीदका हरेक परिवारको सुख दुःखलाई साथमा लिएर संगठन अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले शहीद परिवारका सदस्यहरूमा आइपर्ने समस्याको समाधानतर्फ अग्रसर रहँदै उनीहरूका आश्रित परिवारलाई के गर्न सकिन्छ भन्ने भावनाका साथ संगठन लागि रहने पनि बताए ।
सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की मातहत कार्यालयहरूको निरीक्षण भ्रमणका क्रममा महानिरीक्षक पौडेल पर्वत जिल्लाको कुस्मा नगरपालिका–७ खरेहास्थित शहीद परिवारको घर पुगी सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सो अवसरमा महानिरीक्षक पौडेलले परिवारका सदस्यहरूलाई दोसल्ला ओढाई सम्मान समेत गरेका थिए ।
उनले आगामी दिनहरूमा समेत शहीदका परिवारहरूसँग निरन्तर भेटघाट गर्ने योजना रहेको बताउँदै शहीदका परिवारमा परेका समस्या समाधानको लागि सशस्त्र प्रहरी बल नेपालको नजिकको युनिटहरूमा सम्पर्क राख्नसमेत अनुरोध गरे ।
उनले शहीद परिवारको पारिवारिक जीवन, सन्तानको पढाइलगायतका विषयमा समेत जानकारी लिएका थिए ।

यसअघि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको कार्यकालमा समेत ६÷६ महिनामा हरेक शहीद परिवारसँग नजिकका युनिटबाट भेटघाट कार्यक्रम राख्नुका साथै सशस्त्र प्रहरी बल नेपालका युनिटहरूको वार्षिकोत्सवमा शहीद परिवारका सदस्यहरूलाई सहभागी गराइने गरिएको थियो सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया