वर्षा, बाढी र पहिरोले प्रभावित मुख्य राजमार्गहरू : केही सडक पूर्ण बन्द, केही एकतर्फी सञ्चालन

लोकपथ
70
Shares
फाइल तस्बिर

काठमाडौं । देशका विभिन्न स्थानमा लगातारको वर्षा, बाढी, पहिरो तथा सडक मर्मत कार्यका कारण प्रमुख राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार केही सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही स्थानमा सवारी आवागमन एकतर्फी रूपमा सञ्चालन भइरहेको छ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ स्थित देउराली देवीस्थान क्षेत्रमा पहिरो खसेपछि सतुङ्गल–चित्लाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मर्मत कार्यका लागि उक्त सडक करिब एक महिनासम्म बन्द रहने जनाइएको छ ।

यस्तै, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ अन्तर्गत महालक्ष्मी क्षेत्रमा सडक मर्मत कार्य भइरहेकाले कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडक पनि एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ ।

पूर्वी नेपालमा इलाम नगरपालिका–९ को पुवाखोलामा आएको बाढीले मेची कोरिडोर पूर्ण रूपमा अवरुद्ध बनाएको छ । सम्बन्धित निकायले तत्कालका लागि मेची राजमार्गलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न आग्रह गरेको छ ।

बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा सम्पूर्ण सवारी साधनको सञ्चालन अस्थायी रूपमा रोकिएको छ ।

यसैबीच, मध्य पहाडी लोकमार्गअन्तर्गत भोजपुरको बोखिम र पाँचथरको दोभान क्षेत्रमा बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । त्यस्तै, पूर्व–पश्चिम लोकमार्गअन्तर्गत महोत्तरीको बर्दिवास–५ स्थित टुटेश्वर खण्डमा पनि सवारी आवागमन एकतर्फी रूपमा सञ्चालन भइरहेको छ ।

प्रहरीले यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिन तथा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । लगातारको वर्षासँगै थप जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?