कैलाली । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गत गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले टेम्पो भिरबाट खसालेको भनिएको घटनाबारे डिभिजन वन कार्यालय कैलालीले स्पष्टीकरण दिएको छ ।
कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै वन कर्मचारीले जानाजान वा नियतवश टेम्पो भिरबाट नखसालेको स्पष्ट पारेको छ ।
कार्यालयका अनुसार उक्त टेम्पो चल्ने अवस्थामा नरहेको, चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको तथा वन क्षेत्र अतिक्रमण गरी बनाइएको कवाडी संरचनाका रूपमा प्रयोग हुँदै आएको थियो ।
डिभिजन वन कार्यालयका वरिष्ठ डिभिजनल वन अधिकृत डा। रामविचारी ठाकुरले गाईमारे क्षेत्र चुरे संरक्षणका दृष्टिले अत्यन्त संवेदनशील भएकाले त्यहाँ अतिक्रमण नियन्त्रणका लागि नियमित अभियान सञ्चालन हुँदै आएको जानकारी दिए ।
उनका अनुसार सार्वजनिक वन क्षेत्रलाई गैरकानुनी रूपमा कब्जा गरी खोका–छाप्रा बनाउने तथा किनबेच गर्ने गतिविधि लामो समयदेखि चल्दै आएको छ । कार्यालयले करिब पाँच महिनाअघि सो क्षेत्रमा पुनः अवैध संरचना निर्माण भएको र एक महिनाअघि ती संरचना हटाउन निर्देशन दिइएको पनि जनाएको छ ।
यद्यपि केही छाप्रा हटाइए पनि घनश्याम धामीले प्रयोग गर्दै आएको टेम्पो हटाउन अटेर गरिएको कार्यालयको भनाइ छ । यसअघि पनि सो टेम्पोलाई हटाएर सम्बन्धित व्यक्तिको घरसम्म पुर्याइए पनि पुनः सोही स्थानमा ल्याई पसल सञ्चालन गरिएको बताइएको छ ।
गत जेठ २९ गते पुनः अतिक्रमण हटाउने अभियानका क्रममा सम्बन्धित व्यक्तिले टेम्पो हटाउन अस्वीकार गर्दै “जे गर्नुस् गर्नुहोस्, म हटाउँदिन” भनेपछि वन कार्यालयको टोलीले गुडाउन नमिल्ने अवस्थामा रहेको टेम्पो हटाउने प्रयास गरेको थियो ।
सो क्रममा भिरालो भू–बनावट र असन्तुलनका कारण टेम्पो अनियन्त्रित भई दुर्घटनावश भिरबाट खसेको कार्यालयले स्पष्ट पारेको छ ।
वन कार्यालयले कानुनअनुसार वन संरक्षण तथा अतिक्रमण नियन्त्रणका काम भइरहेको भन्दै घटनालाई अतिरञ्जित वा भ्रामक रूपमा प्रस्तुत नगर्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया