बिपी राजमार्ग मुख्य सडक किनाराबाट यातायात सञ्चालनको तयारी

लोकपथ
42
Shares

काठमाडौं । गत असोजमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त बनेको बिपी राजमार्गको भकुण्डेबेँसी–नेपालथोक खण्डमा असार १५ गतेभित्रै मुख्य सडक संरचनाको किनाराबाट सवारीसाधन सञ्चालन गर्ने तयारी गरिएको छ ।

सडक डिभिजन भक्तपुरले वर्षायाममा खोलामा बनाइने डाइभर्सन बारम्बार बग्ने समस्या समाधान गर्न स्थायी संरचनामार्फत यातायात सञ्चालन गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिएको हो ।

सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार हाल प्रयोग भइरहेको डाइभर्सन सामान्य वर्षामा समेत बग्ने गरेकाले वर्षा सुरु हुनुअघि नै माथिल्लो सडक खण्डबाट यातायात सञ्चालन गर्ने गरी काम भइरहेको छ । उनका अनुसार जेठ मसान्तसम्म अधिकांश महत्वपूर्ण संरचना निर्माण सम्पन्न हुनेछन् र असारदेखि सवारीसाधन मुख्य सडक संरचनाको किनाराबाट सञ्चालन गर्न सकिनेछ ।

धुलिखेल–खावा खण्डको ४ किलोमिटरमध्ये करिब २.५ किलोमिटरमा पहिलो तहको बिटुमिनस कार्य सम्पन्न भइसकेको छ भने बाँकी १।५ किलोमिटरमा सब–बेसको काम भइरहेको छ । तर बिटुमिन अभावका कारण थप कालोपत्रे कार्य प्रभावित भएको उनले बताए । बजारमा बिटुमिन उपलब्ध भए कामले थप गति लिने उनको भनाइ छ ।

उनले निर्माण कार्य रोकिएको नभई मुख्य चुनौती बिटुमिनको अभाव रहेको स्पष्ट पारे । विभागले नेपाल आयल निगम र भारतको आइओसिएलसँग सरकार–सरकार तहमा बिटुमिन आपूर्तिबारे छलफल गरिरहेको जानकारी प्राप्त भए पनि यसबारे औपचारिक निर्णय भने भइसकेको छैन ।

निर्माण व्यवसायीका प्रतिनिधि उत्तम ढुंगेलले असार १५ भित्रै सडक सञ्चालनमा ल्याउने लक्ष्यसहित दिनरात काम भइरहेको बताए । उनका अनुसार परियोजनाको सबैभन्दा संवेदनशील मानिएको बक्सिगुना खण्डको २३० मिटरमध्ये अब ७० मिटर मात्र निर्माण बाँकी छ ।

‘अब ४–५ दिनभित्र उक्त खण्डमा आपत्कालीन अवस्थामा माथिबाटै सवारीसाधन सञ्चालन गर्न सकिने व्यवस्था मिल्छ,‘उनले भने, ‘अर्को १५ दिनभित्र थप संरचना निर्माण गरी सडकलाई सुरक्षित रूपमा सञ्चालन गर्ने लक्ष्य छ ।’

ढुंगेलका अनुसार परियोजनाको भौतिक प्रगति ३० प्रतिशतभन्दा बढी र वित्तीय प्रगति करिब २५ प्रतिशत पुगेको छ । बाढीले तीन पटकसम्म क्षति पुर्‍याउँदा निर्माण कार्य झन्डै एक महिना पछाडि धकेलिएको भए पनि हाल आवश्यक जनशक्ति र सामग्री पर्याप्त मात्रामा उपलब्ध छन् ।

गत वर्ष असोज १२ र १३ गते आएको बाढीले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको भकुण्डेबेँसीदेखि नेपालथोकसम्मको २९ किलोमिटर सडक खण्डलाई तीन भागमा विभाजन गरी पुनर्निर्माण भइरहेको छ ।

भकुण्डेबेँसीदेखि चारसयबेँसीसम्मको ११।८ किलोमिटर खण्डमा नवकान्तिपुर लामा जेभीले काम गरिरहेको छ । चारसयबेँसीदेखि डालाबेँसीसम्मको ८.५ किलोमिटर खण्ड कमलजीत एवान जेभीले निर्माण गरिरहेको छ । डालाबेँसीदेखि वर्खेखोलासम्मको खण्ड जापानी सहयोग नियोग (जाइका) ले निर्माण गरिरहेको छ भने वर्खेखोलादेखि नेपालथोकसम्मको ४ किलोमिटर खण्ड नेपाली निर्माण कम्पनीले पुनर्निर्माण गरिरहेको छ ।

पुनर्निर्माणसँगै बिपी राजमार्गको यो खण्ड ‘इन्टरमिडिएट लेन’ बाट स्तरोन्नति भई पूर्ण दुई लेनको आधुनिक सडकमा रूपान्तरण हुने भएको छ । डिभिजन प्रमुख योगेशका अनुसार सडकको न्यूनतम चौडाइ ९ मिटर हुनेछ, जसमा ७ मिटर मुख्य सडक र दुवैतर्फ १–१ मिटरका पक्की सोल्डर रहनेछन् ।

सडक डिभिजनका अनुसार बाढीबाट प्रभावित क्षेत्रमा वर्षायामअघि आवश्यक संरचना निर्माण गरी डाइभर्सनको भर पर्नु नपर्ने व्यवस्था मिलाउने लक्ष्यअनुसार काम अघि बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?