काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशप्रति अत्यधिक माया र चिन्ता व्यक्त गर्दा आफूले निरन्तर गाली, अपमान र तिरस्कार सहनुपरेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै अध्यक्ष राईले देशको हितका लागि आवाज उठाउँदा आलोचना र विरोधको सामना गर्नुपरेको गुनासो गरे । उनले आफू धरान का मेयर रहँदा दैनिक करिब एक हजार गाली पाउने गरेको स्मरण गर्दै अहिले त्यो संख्या बढेर दैनिक १० हजार पुगेको दाबी गरे ।
दार्चुलामा पुल निर्माणका क्रममा पनि आफूविरुद्ध व्यापक आलोचना भएको उल्लेख गर्दै उनले विरोधका बाबजुद पुल निर्माण अन्तिम चरणमा पुगेको र आगामी १०-१५ दिनभित्र उद्घाटन गरिने बताए । सामाजिक सञ्जालमा आफूविरुद्ध संगठित रूपमा गाली अभियान सञ्चालन भइरहेको आशंका समेत उनले व्यक्त गरे ।
अध्यक्ष राईले नेपाली समाजमा अरूले गरेको राम्रो कामको प्रशंसा गर्नुभन्दा खुट्टा तान्ने प्रवृत्ति हावी रहेको टिप्पणी गर्दै यस्तो संस्कृतिको अन्त्य नभएसम्म देशले अपेक्षित प्रगति गर्न नसक्ने बताए । ‘आफू काम नगर्ने र अरूलाई पनि काम गर्न नदिने प्रवृत्ति अन्त्य हुनुपर्छ,‘उनले भने ।
उनले सीमा सुरक्षाका विषयमा राज्य संवेदनशील हुनुपर्ने धारणा राख्दै प्रधानमन्त्री बालेन्द्र साह को अभिव्यक्तिका कारण सुस्तामा भारतीय सेना प्रवेश गरेको आरोप समेत लगाए । साथै, विदेशी ऋणमा आधारित विकास मोडेलको आलोचना गर्दै स्वदेशी स्रोत, श्रम र उत्पादनमा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए ।
आफूमाथि हुने आलोचनाप्रति कटाक्ष गर्दै उनले गाली गर्नेहरूलाई सम्मान व्यक्त गरे । ‘म मेरो बाटो हिँडिरहन्छु, तपाईंहरू मेरो खुट्टा तानिरहनुस्, अन्ततः जित मेरै हुनेछ,‘उनले भने ।
कार्यक्रममा अध्यक्ष राईले श्रम संस्कृति पार्टीका कुनै पनि सांसदले भ्रष्टाचार नगर्ने दाबी गर्दै पार्टी संगठनलाई देशव्यापी रूपमा विस्तार गर्ने योजना सुनाए । आगामी स्थानीय तह निर्वाचनमा श्रम संस्कृति पार्टीलाई विजयी गराउन उनले कार्यकर्ता तथा समर्थकहरूलाई आग्रह पनि गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया