‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं रास्वपा बागमती प्रदेश सभापतिका उम्मेदवार डा.अच्युतम लामिछानेले पार्टीभित्र  ‘एक व्यक्ति, एक पद’ व्यवस्था लागू गर्न नहुने बताएका छन् ।  

शनिबार पार्टीको बागमती प्रदेशको अधिवेशनको क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उनले उक्त व्यवस्था लागू भएमा वर्तमान पदाधिकारी र निर्वाचित प्रतिनिधिहरूको राजनीतिक भविष्य नै सीमित हुने बताएका हुन् । 

 ‘एक व्यक्ति, एक पद’ नीतिले पार्टीका सक्रिय नेता–कार्यकर्तालाई निष्क्रिय बनाउने उनको भनाई छ । उक्त व्यवस्था लागू भएमा वर्तमान पदाधिकारी तथा निर्वाचित प्रतिनिधिहरूको राजनीतिक अवसर सीमित हुन सक्ने उनको तर्क छ । 

उनले पार्टीलाई विद्यालय तथा विश्वविद्यालयसँग तुलना गर्दै जनप्रतिनिधित्वको यात्रा पार्टी संगठनबाटै तय हुने पनि बताए । पार्टीभित्र विचार, बहस र राजनीतिक विमर्शमार्फत नेतृत्व विकास हुने र त्यही प्रक्रियाबाट तयार भएका व्यक्तिहरू जनप्रतिनिधिका रूपमा चुनावी मैदानमा जाने उनको भनाई छ । 

उनले आफू पाँच वर्षका लागि सांसद मात्रै बन्न नआएको बताए । पार्टीका पदहरूलाई राजनीतिक यात्राका ‘स्टेप’ वा ‘भर्‍याङ’ का रूपमा लिनुपर्ने उनको भनाई छ । उनले पार्टीका महामन्त्री सांसद र मुख्य सचेतकसमेत रहेको उल्लेख गरे । 

उनले भने,  ‘तपाईँले अहिले हाम्रो महामन्त्रीलाई हेर्नुभयो भने महामन्त्री सांसद हुनुहुन्छ,  महामन्त्री मुख्य सचेतक हुनुहुन्छ । यसलाई हामीले कहिल्यै पनि के लिनु मिल्दैन भने यो पद होइन, त्यो स्टेप हो । त्यसैमा टेकेर भर्‍याङमा टेकेर जाने हो । उहाँ अहिले सांसद नहुनुभएको भए, उहाँ महामन्त्री मात्रै हुनुभएको भए पनि अथवा बिचमा सचेतक हुन गाह्रो हुन्थ्यो । सांसद नभएको भए उहाँ सचेतक हुन सक्नुहुन्थेन । तपाईँ हाम्रो कर्मले गर्ने हो, मेरो खटाईले गर्ने हो । स्थानीय निर्वाचन र प्रदेश निर्वाचनमा साथीहरूलाई नेता बनाउनको लागि मैले यहाँ आउने इच्छा गरेको हुँ । म हैन कि कसैलाई एक पद एक व्यक्ति अहिले भइराखेका सभापतिहरूलाई कहीँ पनि उठ्न नदिनको लागि काम भइरहेको छ, अहिले बागमती प्रदेशकै सदस्यमा आउने व्यक्तिहरूले पनि भोलि कहीँ उठ्न नदिनको लागि होइन । एक पद एक व्यक्तिले निस्तेज गर्छ । अहिले जति पनि प्रतिनिधि आउनुभएको छ, तपाईँहरू कुनै पनि पदमा हुनुहुन्छ भने तपाईँ भोलि उठ्न नपाउने व्यवस्था हो यो । अहिले जति पनि प्रतिनिधिहरू हुनुहुन्छ, तपाईँहरू कोही पनि कहीँ पनि उठ्न पाउनुहुन्न । एक पद एक व्यक्ति भयो भने यहाँ सबै पदीय दायित्वमा आउनुभएको छ, के तपाईँहरू नउठ्ने हो रु ल मलाई भन्दिनुस् ।’

रास्वपाका सांसदहरूलाई प्रदेश सभापति हुन रोक्न खोजेपछि नेता लामिछानेले असन्तुष्टि  जनाएका हुन् । 

एक व्यक्ति, एक पदको अवधारणा लागू गर्ने विषयमा विवाद हुँदा यसअघि रास्वपा बागमती प्रदेश अधिवेशन रोकिएको थियो । उक्त रोकिएको अधिवेशन शनिबार काठमाडौंमा जारी छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । 

नयाँ नेतृत्व चयनको लागि हाल मतदान कार्य भइरहेको छ । पहिलो चरणमा प्रदेश सभापति र प्रदेश समिति सदस्यको निर्वाचन गरेर दोस्रो चरणमा पदाधिकारीको निर्वाचन हुने जनाइएको छ । 

बागमती प्रदेश सभापतिका लागि डा।लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर खत्री प्रतिस्पर्धामा छन् । लामिछाने हाल प्रदेश सभापति समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?