कला, साहित्य र संस्कृतिबिनाको समृद्धि अपूरो हुन्छ : सञ्चारमन्त्री तिमिल्सिना

लोकपथ
21
Shares

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले कला, साहित्य, भाषा र संस्कृति राष्ट्रको शक्ति तथा पहिचानका आधार भएकाले तिनको संरक्षण र प्रवर्द्धनबिनाको समृद्धि अपूरो हुने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले भौतिक पूर्वाधार र आर्थिक विकाससँगै भाषा, साहित्य र संस्कृतिको सुदृढ विकासलाई समान महत्त्व दिनुपर्ने बताए । उनले कला र साहित्यले राष्ट्रको पहिचान निर्माण गर्ने उल्लेख गर्दै साहित्य संरक्षणका लागि सरकारले गम्भीर रूपमा सोच्नुपर्ने समय आएको बताए ।

उनले सामाजिक सञ्जाल साहित्यिक अभिव्यक्तिको प्रभावकारी माध्यमका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै बदलिँदो प्रविधिसँगै साहित्यको प्रस्तुति र पहुँचका नयाँ आयाम खुलिरहेको बताए । साहित्य क्षेत्रको दीर्घकालीन विकासका लागि दिगो र नतिजामुखी नीतिगत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

मन्त्री तिमिल्सिनाले राजनीतिक क्षेत्रले साहित्य र कलालाई अपेक्षित प्राथमिकता दिन नसकेको स्वीकार गर्दै साहित्यले समाज, मानव संवेदना र जीवनका विविध पक्ष बुझ्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । साहित्यिक अध्ययनले अन्य क्षेत्रमा काम गर्दा समेत सहयोग पुग्ने अनुभव उनले साझा गरे ।

उनले लामो इतिहास बोकेका सरकारी सञ्चार, साहित्यिक तथा सांस्कृतिक संस्थाहरू आर्थिक रूपमा कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता संस्थालाई पुनर्जीवित गरी सबल बनाउन आवश्यक रहेको बताए । संस्थागत सुधार, व्यवस्थापन क्षमता अभिवृद्धि र उत्तरदायित्व सुनिश्चित नगरी केवल सरकारी सहयोगको अपेक्षाले मात्र संस्थाहरू बलियो बन्न नसक्ने उनको धारणा थियो ।

विगतमा सरकारी संस्थानहरूलाई राजनीतिक कार्यकर्ता भर्ती केन्द्रका रूपमा प्रयोग गरिएकाले धेरै संस्था कमजोर बनेको उल्लेख गर्दै उनले सुधारको स्पष्ट मार्गचित्रसहित सरकार अघि बढिरहेको बताए । साथै, गोरखापत्र संस्थान लाई अझ व्यावसायिक, प्रतिस्पर्धी र प्रभावशाली संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको र सञ्चारमाध्यमलाई प्रदान गरिँदै आएको लोककल्याणकारी विज्ञापन नरोकिने स्पष्ट पारे ।

कार्यक्रममा ‘मधुपर्क सम्मान–२०८३’ अन्तर्गत पद्यतर्फ यादव खरेल, गद्यतर्फ भाउपन्थी तथा ‘मधुपर्क प्रतिभा सम्मान’बाट गीता त्रिपाठी सम्मानित भएका थिए । उनीहरूलाई सम्मानपत्रसहित ५० हजार रुपैयाँ नगद प्रदान गरिएको जनाइएको छ। कार्यक्रममा मधुपर्कका पूर्वसम्पादक कपिल घिमिरे लाई पनि सम्मान गरिएको थियो।

सम्मानित साहित्यकार यादव खरेलले सूचना प्रविधि र कृत्रिम बौद्धिकताको तीव्र विकाससँगै साहित्यिक सिर्जना तथा पठन संस्कृतिमा ह्रास आउन थालेको चिन्ता व्यक्त गरे ।

यस्तै, कथाकार भाउपन्थीले साहित्य सिर्जना, प्रकाशन र प्रवर्द्धनका लागि राज्यको लगानी आवश्यक रहेको बताउँदै साहित्यिक पत्रिकाहरू क्रमशः बन्द हुँदै जानु चिन्ताको विषय भएको उल्लेख गरे । उनले समयानुकूल रूपमा साहित्यिक सिर्जना र सृजनशीलताका विविध आयामहरूको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?