भन्सार दर र ‘गायब १६ पाना’को विवादमा अर्थमन्त्री डा. वाग्लेको स्पष्टीकरण : ‘चियाको कपमा तुफान ल्याउन खोजियो’

लोकपथ
182
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेजबाट पाना गायब पारिएको भन्ने आरोपलाई भ्रामक र अतिरञ्जित भएको स्पष्ट पारेका छन् ।

बुधबार सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले भन्सार दरमा कुनै नीतिगत चलखेल नभएको र देखिएका विषयहरू प्राविधिक तथा व्याख्यागत कारणले उत्पन्न भएको बताए ।

अर्थमन्त्री वाग्लेका अनुसार गत वर्ष नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको सरकारले सच्याएका केही भन्सार दरहरूलाई यस वर्ष स्पष्ट पारिएको मात्र हो । उनले विशेष गरी रगत तथा भ्याक्सिन बोक्ने क्यारियरको भन्सार दरमा सामान्य प्राविधिक परिमार्जन गरिएको जानकारी दिए ।

‘विशेष गरी रगत र भ्याक्सिन बोक्ने क्यारियरको भन्सार दरमा मात्रै सामान्य परिवर्तन गरिएको छ, जुन मानवीय र प्राविधिक विषय हो,‘उनले बैठकमा भने । उनका अनुसार अन्य केही विषयमा भाषागत स्पष्टताका लागि मात्र संशोधन गरिएको हो ।

उनले ४५७ पानाको दस्तावेजमा सानो ढाँचागत परिवर्तनले पानाको संख्या बढ्न वा घट्न सक्ने भन्दै १६ पाना गायब भएको भन्ने दाबी अस्वीकार गरे। माइक्रोसफ्ट वर्ड जस्ता सफ्टवेयरमा कोलम साइज परिवर्तन हुँदा पानाको संख्या परिवर्तन देखिनु स्वाभाविक भएको उनको भनाइ थियो ।

अर्थमन्त्री वाग्लेले विधेयक संसदमा पेश भइसकेपछि कुनै अनधिकृत परिवर्तन नगरिएको दाबी गर्दै सञ्चारमाध्यममा आएका समाचारहरूले भ्रम सिर्जना गरेको टिप्पणी गरे। उनले यस विषयलाई चियाको कपमा तुफान बनाइएको भन्दै आलोचना गरे ।

उनले कुनै पनि प्रकारको गोप्य हेरफेर वा नीतिगत चलखेल नभएको दोहोर्याउँदै आवश्यक परे थप स्पष्ट पार्न सरकार तयार रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?