बालेन कहिले हुन्छन् संसदमा उपस्थित ?

लोकपथ
175
Shares

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा र खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह लाई संसदमा उपस्थित हुन कुनै प्रकारको अफ्ठ्यारो नरहेको स्पष्ट पारेका छन् ।

मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले आवश्यकताअनुसार प्रधानमन्त्री संसदमा उपस्थित हुने बताएका हुन् ।

उनका अनुसार प्रधानमन्त्री यसअघि पनि आवश्यकता अनुसार संसदमा उपस्थित भइसकेका छन् । तर विपक्षी दलहरूले उठाउने प्रश्नको संख्या अपेक्षाभन्दा कम भएको उनले टिप्पणी गरे ।

उनले भने, ‘प्रधानमन्त्रीलाई संसदमा जान कुनै अफ्ठ्यारो छैन, उहाँ पहिलो पटक उपस्थित हुँदा सोचेअनुसार प्रश्नहरू आएनन् । आवश्यकता परेमा प्रधानमन्त्रीज्यूले संसदमा सम्बोधन गर्नुहुन्छ ।’

यसैबीच विपक्षी दलहरूले प्रधानमन्त्रीले सीमा सम्बन्धी दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन् ।

त्यसैगरी मन्त्री पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्ले माथि लागेका आरोपहरूको पनि बचाउ गरेका छन् । विपक्षीले बजेटमार्फत करका दर हेरफेर गर्दा स्वार्थ समूहसँग मिलेमतो भएको आरोप लगाउँदै छानबिनको माग गरेका छन् ।

तर प्रवक्ता पोखरेलले अर्थमन्त्रीले मेहनतपूर्वक बजेट तयार गरेको दाबी गर्दै सरकारको पूर्ण समर्थन रहेको स्पष्ट पारे ।

उनले भने, ‘अर्थमन्त्रीज्यूले निकै मेहनत गरेर बजेट ल्याउनुभएको छ, त्यसमा हाम्रो पूर्ण समर्थन छ ।’

यसैबीच, आर्थिक विधेयक संसदमा पेस भएपछि जानकारी नै नदिई करका दर हेरफेर गरिएको विषयमा विवाद चर्किएको छ । विपक्षी दलहरूले स्वार्थ समूहसँग मिलेमतो भएको आरोप लगाउँदै छानबिनको माग जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?