काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ । बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
कार्यसूचीअनुसार बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिनेछन् ।
साथै, अर्थ विधेयक निर्धारित अवधिभित्र फिर्ता नभएको जानकारी गराउने तथा चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने सम्भावित कार्यसूची पनि रहेको छ ।
यद्यपि, आजको बैठक निर्धारित कार्यसूचीमा प्रवेश गर्ने वा नगर्ने विषय अझै अनिश्चित छ । प्रधानमन्त्री बालेन्द्र शाह ले सीमा सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले लगातार संसद् बैठक अवरुद्ध पार्दै आएका छन् ।
यसैबीच, सोमबार बसेको संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठकले संसद्को गतिरोध अन्त्य गर्ने विषयमा सहमति जुटाउन नसकेपछि बैठक सञ्चालन हुन सकेको थिएन । राजनीतिक दलहरूबीच सहमति नजुटेसम्म संसद्को अवरोध कायमै रहने संकेत देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया