दिपक खड्कासहित ३ जनालाई कांग्रेसको स्पष्टीकरण, घण्टीमा भोट हाल्न लगाएको आरोप

लोकपथ
308
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री दिपक खड्कासहित तीन जनालाई स्पष्टीकरण सोधेको छ ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिले खड्कासहित संखुवासभाका जिल्ला सचिव कुमारबहादुर अधिकारी र समानुपातिक उम्मेदवार थलकुमार लिंखालाई ५ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको हो ।

गत फागुन २१ गतेको निर्वाचनका सन्दर्भमा जिल्लाका उम्मेदवारलाई असहयोग गरेको आरोप उनीहरुमाथि रहेको छ ।

कांग्रेसको पूर्वआमन्त्रित केन्द्रीय सदस्य समेत रहेका खड्काले चुनावका बेला अन्य पार्टीका उम्मेदवारलाई मत मागेको साथै पार्टीकै उम्मेदवारलाई हराउन लागेको आरोप रहेको छ ।

नेपाली कांग्रेसको कार्यालय सचिव दिनेश थापामगरका अनुसार खड्काले फागुन ११ गते घरदैलो कार्यक्रममा ‘विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई स्वीकार गर्दिन्’ भन्ने लगायतका अभिव्यक्ति दिएका थिए ।

त्यतिमात्र होइन उनले, ‘…कांग्रेसले चुनाव जित्दैन आफ्नो इच्छा अनुसार गर्नु भन्ने अभिव्यक्ति दिएको, आफ्नो नजिकका साथीहरुलाई कार्यक्रममा उपस्थित नहुन फोन गरेको, बाहिरी देखावटी रुपमा मत मागे पनि आन्तरिक रुपमा सूर्य घण्टी र माटोमा भोट हाल्न लगाएको, एमालेको उम्मेदवारलाई जिताएर ल्याउँछु भन्ने अभिव्यक्ति दिएको’ कांग्रेसको ठहर छ ।

उनीसहितका व्यक्तिलाई गत जेठ २० गते स्पष्टीकरण सोधी ५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पत्राचार गरिएको हो ।

‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा १ (क) (ख) (ग) (घ) बमोजिकको अनुशासन उल्लंघनको कसुरमा तपाईँलाई सजाय किन नगर्ने हो ? यदी कारबाही गर्न नपर्ने कुनै मनासिव आधार कारण भए ऐ.विधानको धारा ३४ को उपधारा ८ (घ) बमोजिम यो पत्र प्राप्त गरेको मितिले ५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नु हुन नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको निर्णयानुसार यो पत्राचार गरिएको छ,’ पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?