प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति हर्कको आपत्ति, तथ्यगत पुष्टि गर्न माग

लोकपथ
42
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र साहले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले उक्त अभिव्यक्तिको तथ्यगत पुष्टि गर्न प्रधानमन्त्री स्वयंलाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै राईले प्रधानमन्त्रीको भनाइ विवादास्पद भएको भन्दै त्यसबारे स्पष्टता आवश्यक रहेको बताए । उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति प्रमाणित नभए नेपाली जनतासमक्ष सच्याउनुपर्ने धारणा राखे ।

राईले सीमा र राष्ट्रिय भूगोल जस्तो संवेदनशील विषयमा स्पष्टता नभएसम्म अन्य विषयमा बहस गर्नु अर्थहीन हुने टिप्पणी गरे । उनले राष्ट्रिय भूगोल र सार्वभौमिकताको रक्षा राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले अनावश्यक अन्योल सिर्जना गरेको आरोप लगाए ।

उनले नेपाली भूमिमा सेनाको तैनाथीसम्बन्धी विषयमा समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा उनले भने, ‘उहाँले हाम्रो सीमानाबारे हाम्रो देशले छिमेकी मुलुकलाई कहाँ–कहाँ अतिक्रमण गरेको हो भन्नेबारे पुष्टि गर्नुपर्छ । होइन भने नेपाली जनतालाई सम्बोधन गरेर आफ्नो भनाइ सच्याउनुपर्छ । त्यो नसच्चिएसम्म अर्को विषयमा प्रवेश गर्नु अर्थहीन हुन्छ ।’

प्रधानमन्त्री साहले प्रतिनिधि सभामा सम्बोधनका क्रममा भारतले नेपालको भूमि मात्र नभई नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको अभिव्यक्ति दिएका थिए, जसलाई लिएर राजनीतिक विवाद उत्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?