काठमाडौं । संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र साहको नेपाल–भारत सीमा विवादसम्बन्धी अभिव्यक्तिविरुद्ध प्रदर्शन गरेको छ ।
शनिबार श्रम संस्कृति पार्टीले काठमाडौंको माईतीघरमा खबरदारी सभा आयोजना गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विरोध जनाएको हो ।
प्रधानमन्त्री साहले प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिपछि विपक्षी दल तथा विभिन्न नागरिक अगुवाले निरन्तर विरोध जनाउँदै आएका छन् ।
प्रदर्शनमा सहभागी दलबहादुर गुरुङले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गलत र तथ्यहीन भएको आरोप लगाए । उनले नेपालले कसैको भूमि नमिचेको भन्दै प्रधानमन्त्रीले आफ्नो भनाइ फिर्ता लिएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताए ।
‘नेपालको भूमि अरूले मिच्न नदिने र नेपालले अरूको भूमि मिचेको भन्ने अभिव्यक्ति झुटो हो भनेर प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्छ,‘उनले भने, ‘प्रधानमन्त्रीले माफी नमागेसम्म आन्दोलन र धर्ना जारी राख्छौँ ।’
प्रदर्शनकारीहरूले ‘संसदमा प्रधानमन्त्रीले दिएको तथ्यहीन अभिव्यक्ति फिर्ता गर’, ‘सिंहदरबारको कुर्सीमा बस्दा नेपालीको भरोसा बन, कसैको कठपुतली नबन !’, ‘नेपाली माटोको रक्षा गर’, ‘राष्ट्रको सम्मान जोगाऔँ, गैर जिम्मेवार अभिव्यक्तिको विरोध गरौँ’, ‘नेपालीको प्रधानमन्त्री हो कि विदेशीको दलाल हो ?’ तथा ‘लम्पसार कूटनीति होइन, स्वाभिमानको अडान राख’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया