काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको अर्थ राजनीतिमा देखिएको संस्थागत तथा नीतिगत कब्जाको अध्याय अन्त्यतर्फ पुगेको दाबी गरेका छन् ।
नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सुशासन, स्वस्थ प्रतिस्पर्धा र डिजिटलीकरणमार्फत सेवा प्रवाहमा व्यापक सुधार गरिने बताएका हुन् ।
अर्थमन्त्री वाग्लेले विगतमा सीमित व्यक्ति वा समूहको प्रभावमा रहेका राजनीतिक, प्रशासनिक तथा नियामक संरचनामाथिको नियन्त्रण तोड्न सरकार सफल भएको उल्लेख गरे । उनले बजेटमार्फत त्यसलाई अप्रतिगम्य परिवर्तन का रूपमा अगाडि बढाउने आधार तयार भएको बताए ।
उनले राज्यले बलियो नियामक तथा अवसर सिर्जना गर्ने भूमिकामा रहने र निजी क्षेत्रले उत्पादन, लगानी, रोजगारी सिर्जना तथा कर तिरेर अर्थतन्त्रलाई गतिशील बनाउने बताए । सरकार र निजी क्षेत्रबीचको साझेदारीलाई अझ सुदृढ बनाउँदै आर्थिक सुधारलाई निरन्तरता दिइने उनको भनाइ थियो ।
मन्त्री वाग्लेले सेवा प्रवाहलाई प्रभावकारी बनाउन डिजिटलीकरणलाई प्राथमिकतामा राखिएको जानकारी दिए । उनका अनुसार नागरिक एपमार्फत सयौँ सरकारी सेवा उपलब्ध गराउने, कम्पनी दर्तालगायतका प्रक्रियालाई सरल बनाउने तथा प्रशासनिक झन्झट कम गर्ने दिशामा काम भइरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नेतृत्वमा डिजिटल शासनको एजेण्डा अघि बढाइएको उल्लेख गर्दै उनले नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यसहित विभिन्न सुधार कार्यक्रम कार्यान्वयन भइरहेको बताए ।
पूर्वाधार विकासका आयोजनामा देखिने ठेक्का प्रक्रिया, सार्वजनिक खरिद, जग्गा प्राप्ति तथा मुआब्जासम्बन्धी समस्याको स्थायी समाधानका लागि कानुनी तथा नीतिगत सुधार सुरु गरिएको पनि उनले बताए । बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन रकमान्तर तथा प्रशासनिक लचकताको व्यवस्था गरिएको उनको भनाइ थियो ।
अर्थमन्त्री वाग्लेले छोटो अवधिमै ठूलो संख्यामा कानुन संशोधन तथा खारेजीका काम अघि बढाइएको उल्लेख गर्दै सुधारको गति आगामी दिनमा पनि निरन्तर रहने बताए ।
सरकार एक्लैले मात्रै विकास र सुधारका लक्ष्य हासिल गर्न नसक्ने भन्दै उनले निजी क्षेत्र, सञ्चारमाध्यम र आम नागरिकको विश्वास, सहकार्य तथा साझेदारी आवश्यक रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया