प्रधानमन्त्रीलाई ‘अमर्यादित’ सन्देश पठाएको आरोपमा पक्राउ परेका सचिव पुष्कर ७ घण्टापछि रिहा

लोकपथ
532
Shares

काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर पक्राउ परेको केही घण्टामै रिहा भएका छन् ।

उनीलाई बिहीबार अपराह्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कपनस्थित निवासबाट नियन्त्रणमा लिएको थियो ।

प्रहरीले करिब सात घण्टा सोधपुछ गरेपछि पत्नी आभा श्रेष्ठ को जिम्मामा उनलाई रिहा गरेको हो ।

प्रहरीका अनुसार पुष्करमाथि उच्च पदस्थ व्यक्तिलाई मोबाइल सन्देशमार्फत कर्मचारीको पदीय मर्यादाविपरीत भाषा प्रयोग गरेको आरोप छ । सोही विषयमा सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

मुख्यसचिव बन्ने प्रयासका क्रममा उनले प्रधानमन्त्रीसँग भेटका लागि समय मागेका थिए । भेटको समय नपाएपछि प्रधानमन्त्रीको निजी नम्बरमा सन्देश पठाएको आरोप छ । प्रहरीको अनुसार उक्त सन्देशमा प्रयोग गरिएको भाषा निजामती कर्मचारीको मर्यादाअनुकूल नभएको देखिएको छ ।

सोधपुछका क्रममा पुष्करले प्रधानमन्त्री कार्यालय तथा निजी सचिवालयका कर्मचारीमार्फत आफूले अवसर नपाएपछि सन्देश पठाएको बताएका छन् ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?