एमाले–माओवादीमा कांग्रेसजस्तो समावेशिता छैन : उदय शमशेर

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर जबराले नेपाली कांग्रेस अन्य राजनीतिक दलको तुलनामा सबैभन्दा बढी समावेशी दल रहेको दाबी गरेका छन् ।

नेपाल थारु संघको प्रथम महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले पार्टीको नीति र संरचनाले थारु समुदायलाई उच्च प्राथमिकता दिएको बताएका हुन् ।

नेपाल थारु संघलाई कांग्रेसको सबैभन्दा कान्छो भ्रातृ संगठनको रूपमा चिनाउँदै सहमहामन्त्री जबराले छोटो अवधिमै सबै जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न हुनु गौरवको विषय भएको उल्लेख गरे ।

उनले २०७९ साल माघ ४ गते अध्यक्षको मनोनयन भएपछि विभिन्न प्रतिकूलताका बाबजुद संघले सांगठनिक स्वरूप ग्रहण गर्दै ऐतिहासिक महाधिवेशनको चरणमा पुगेको जानकारी दिए ।

जबराले अन्य राष्ट्रिय दलहरूको तुलनामा कांग्रेसले थारु समुदायका नेताहरूलाई नेतृत्वको मुख्य तहमा स्थापित गरेको दाबी गरे ।

उनले भने, ‘बहुदलीय व्यवस्था आउनुअघि नै कांग्रेसले पशुपतिनारायण चौधरीलाई महामन्त्री बनाएको थियो । पार्टीको केन्द्रीय उपसभापतिमा विजयकुमार गच्छदार, सहमहामन्त्रीमा उमाकान्त चौधरी र हाल योगेन्द्र चौधरी हुनुहुन्छ । यस्तो समावेशिता एमाले, माओवादी वा रास्वपाजस्ता अन्य दलमा देखिँदैन ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा थारु समुदायकै डिल्ली चौधरीलाई नियुक्त गरेर कांग्रेसले समावेशिताको उदाहरण प्रस्तुत गरेको पनि उनले बताए ।

जबराले पार्टीभित्र थारु समुदायको जनसंख्या र सक्रियताको आधारमा अझ बढी अधिकार र अवसरका लागि थारु नेताहरू स्वयं सक्षम भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?