काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले सरकारले बिजुली प्रयोग गर्ने उपभोक्तामाथि थप कर लगाउने निर्णय गलत भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा मासिक ५० युनिटभन्दा बढी बिजुली खपत गर्ने उपभोक्तालाई ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयको विरोध गरेका हुन् ।
घिसिङले अहिले नेपालमा खाना पकाउने, पानी तताउने लगायतका काममा बिजुलीको प्रयोग बढ्दै गइरहेको भन्दै यस्तो बेला सरकारले कर थपेर उपभोक्तालाई निरुत्साहित गरेको बताए ।
उनका अनुसार ५० युनिटभन्दा बढी बिजुली प्रयोग गर्ने अधिकांश ग्राहक सामान्य घरपरिवार हुन् । नयाँ कर लागू हुँदा लाखौं परिवारको मासिक खर्च बढ्ने र दैनिक जीवन थप महँगो हुने उनले बताए ।
घिसिङले यस निर्णयले विद्युतीय चुलो र अन्य विद्युतीय उपकरणको प्रयोग घट्न सक्ने तथा मानिसहरू फेरि एलपी ग्यासमा निर्भर हुन सक्ने चेतावनी दिए । यसले ऊर्जा सुरक्षा, व्यापार घाटा घटाउने प्रयास र हरित अर्थतन्त्र निर्माणको लक्ष्यलाई असर गर्ने उनको भनाइ छ ।
उनले देशभित्र उत्पादन भएको बिजुलीको खपत बढाउन प्रोत्साहनमूलक नीति आवश्यक रहेको भन्दै विद्युत महसुललाई उपभोक्तामैत्री र न्यायोचित बनाउनुपर्ने बताए ।
घिसिङले स्वदेशी तथा स्वच्छ ऊर्जाको प्रयोग बढाउन र उपभोक्ताको हितका लागि बिजुलीमा लगाइएको अतिरिक्त ५ प्रतिशत कर तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया