महिला अधिकारको संरक्षणमा साझा प्रतिबद्धता आवश्यक : भीष्मराज आङ्देम्बे

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महिला अधिकारको संरक्षण र प्रवर्धनका लागि राज्य, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण समुदायले साझा प्रतिबद्धताका साथ काम गर्न आवश्यक रहेको बताएका छन् ।

आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा शनिबार शुभकामना वक्तव्य जारी गर्दै उनले महिला अधिकारको सुनिश्चितता र सशक्तीकरणका लागि सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताएका हुन् ।

महिलाको क्षमता, सिर्जनशीलता, नेतृत्व र योगदान राष्ट्र निर्माणका आधारस्तम्भ भएको उल्लेख गर्दै आङ्देम्बेले राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्वले मात्रै समावेशी, न्यायपूर्ण र समृद्ध समाज निर्माण गर्न सकिने धारणा व्यक्त गरेका छन् ।

उनले नेपालको संविधानले सुनिश्चित गरेका महिला अधिकारहरूको प्रभावकारी कार्यान्वयन, समान अवसरको सुनिश्चितता तथा महिलाको आत्मनिर्भरता र सशक्तीकरण वर्तमान समयको प्रमुख आवश्यकता रहेको बताए ।

आङ्देम्बेले महिला अधिकारको सम्मान र संरक्षणमार्फत लैङ्गिक समानता तथा समावेशी विकासको लक्ष्य हासिल गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा समेत जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?