काठमाडौं । पूर्वअर्थराज्यमन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट अत्यधिक महत्वाकांक्षी भएको टिप्पणी गरेका छन् ।
बजेट सार्वजनिक भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले चालु आर्थिक वर्षको संशोधित बजेटभन्दा आगामी बजेटको आकार करिब २५ प्रतिशतले वृद्धि गरिएको बताए ।
उनले बजेटमा ऋण र पूर्वाधार खर्चबीच सन्तुलन नमिलेको उल्लेख गर्दै ठूलो परिमाणमा ऋण उठाउने लक्ष्य राखिए पनि त्यसअनुसार पूर्वाधार क्षेत्रमा पर्याप्त बजेट विनियोजन नगरिएको टिप्पणी गरे ।
उनका अनुसार सरकारले आगामी आर्थिक वर्षमा ६ खर्ब ५७ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको छ भने पूर्वाधार विकासमा ४ खर्ब ३१ अर्ब रुपैयाँ मात्रै विनियोजन गरिएको छ । उनले ऋण उत्पादक क्षेत्रमा खर्च नभए भविष्यमा ऋण तिर्न थप समस्या सिर्जना हुने चेतावनी दिए ।
राणाले बजेटमा गरिबी न्यूनीकरण र विपन्न वर्गका विषय प्रभावकारी रूपमा समेटिन नसकेको पनि बताए । उनले बजेटमा गरिब र गरिबी जस्ता विषय नै प्राथमिकतामा नपरेको जिकिर गर्दै लक्ष्य हासिल गर्न कठिन हुने धारणा राखे ।
उनले भने, ‘बजेट निकै महत्वाकांक्षी देखियो । सुन्नमा एकदमै राम्रो छ । यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने जस्तो मलाई लागेको छ । ऋणको दायरा अत्यन्त बढेको छ । ऋण लिएपछि त्यो पूर्वाधार विकासमा खर्च हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । अनुत्पादक क्षेत्रमा ऋण खर्च हुँदा भविष्यमा ऋण तिर्न समस्या हुन सक्छ ।
पूर्वअर्थराज्यमन्त्री राणाले युवा स्वरोजगार र स्टार्टअपका क्षेत्रमा सरकारले कुनै नयाँ कार्यक्रम ल्याउन नसकेको टिप्पणी पनि गरे । साथै सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण हुने उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया