कर्णाली प्रदेशको दुर्गम स्थानहरुमा एयर एम्बुलेन्स सेवा सञ्चालन हुने

लोकपथ
21
Shares

काठमाडौं । सरकारले कर्णाली प्रदेशका दुर्गम क्षेत्रमा एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने घोषणा गरेको छ ।

शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कर्णालीका दुर्गम बस्तीमा आकस्मिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न एयर एम्बुलेन्स सेवा सुरु गरिने बताएका हुन् ।

सरकारले स्वास्थ्य क्षेत्रका कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई लक्षित गर्दै विभिन्न सुविधा पनि बढाएको छ । बजेटमा नर्सिङ कर्मचारीको रात्री ड्युटी भत्ता दोब्बर बनाउने व्यवस्था गरिएको छ भने महिला स्वास्थ्य स्वयंसेविकालाई उपलब्ध गराइँदै आएको यातायात खर्चमा ५० प्रतिशत वृद्धि गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिए ।

उनले सरकारले गरिब नागरिकको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

अर्थमन्त्री वाग्लेले भने, ‘कर्णाली प्रदेशका दुर्गम स्थानहरूमा एयर एम्बुलेन्स सेवा सुरु गर्नेछौँ । नर्सिङ कर्मचारीको रात्री ड्युटी भत्ता दोब्बर गरेको छु । महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गर्दै आएका यातायात खर्चमा ५० प्रतिशतले वृद्धि गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?