गणतन्त्र कमजोर भए भविष्य खतरामा पर्न सक्छ : अध्यक्ष ओली

लोकपथ
77
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आमनेपालीले चाहेजति परिवर्तन हुन नसकेको बताएका छन् ।

शुक्रबार गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले परिवर्तनको गति अपेक्षाअनुसार नहुँदा प्रणालीप्रति असन्तुष्टि पैदा हुन सक्ने बताएका हुन् ।

ओलीले त्यस्ता असन्तुष्टिको वैधानिक समाधान भने गणतान्त्रिक प्रणालीभित्रै सम्भव हुने उल्लेख गरेका छन् । लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबीचको भिन्नता समाजले तत्काल नभई जीवन भोगाइका अनुभवबाट क्रमशः बुझ्ने उनले बताएका छन् ।

उनले जनताको निराशालाई उपयोग गर्दै संस्थामाथि अविश्वास फैलाउने, भावनालाई उत्तेजित बनाउने तथा लोकतान्त्रिक संरचनालाई कमजोर पार्ने प्रवृत्तिले अधिनायकवादलाई बढावा दिने जोखिम रहेको बताएका छन् ।

अध्यक्ष ओलीले संविधान, संसद्, न्यायपालिका र स्वतन्त्र प्रेसको अधिकार क्षेत्रको रक्षा गर्नु नै वर्तमान अवस्थामा गणतन्त्रको रक्षा भएको बताएका छन् ।

‘लोकतान्त्रिक गणतन्त्र नभए के–के गुमाउनुपर्छ भन्ने कुरा गणतन्त्र नरहेको अवस्थामै समाजले महसुस गर्न पाउँछ, जुन अघिल्लो पुस्ताले भोगेको थियो,‘ उनको भनाइ छ

गणतन्त्र दिवसको अवसरमा ओलीले लोकतन्त्र प्राप्तिका लागि भएका संघर्षलाई सम्झन र गणतन्त्र कमजोर भए भविष्य कस्तो हुन सक्छ भन्ने विषयमा शान्त ढंगले चिन्तन गर्न सबैमा आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?