सुनकोशीमा टाटासुमो खस्यो, तीन जनाको मृत्यु, चार जना घाइते

लोकपथ
0
Shares

सिन्धुली । मध्यपहाडी लोकमार्गको फिक्कल गाउँपालिका वडा नं ६ नागथानमा टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को१ज२९७६ टाटासुमो आइतबार बिहान साढे २ बजे सुनकोशी नदीमा खसेको हो ।

गाडी सडकबाट २ सय मिटर तल सुनकोशीमा खसेको थियो । घटनास्थलमा ३ जना महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

चालकसहित २ जना पुरुष, १ महिला र एक बालिकालाई उद्धार गरी उपचारको लागी पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी विजय श्रेष्ठले बताएका छन् । चालकको भनाइअनुसार ३ जना बेपत्ता रहेको पनि उनले जानकारी दिए ।

मृतकहरूको पहिचान खुल्न सकेको छैन । बेपत्ता भएकाहरूको खोजी जारी रहेको र घाइतेहरूको घुर्मी उदयपुरस्थित जनसेवा हेल्थ सेन्टर प्रालिमा उपचार भइरहेको श्रेष्ठले जानकारी दिएका छन् ।

घाइते हुनेहरूमा चालक ओखलढुंगाका आशिष विष्ट, खोटाङ दिक्तेल नगरपालिका वडा नं.३ की सम्झना राई र उनकी छोरी १२ वर्षीय सिवानी राई र खोटाङ दिक्तेल नगरपालिका वडा नं. १ का १३ वर्षीय अंकित वि.क. रहेको श्रेष्ठले जानकारी दिए ।
चारै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?