सुकमबासी बस्तीको अवशेषमाथि ‘विकासका लागि विस्थापन’ कि ‘व्यवस्थापनसहितको विकास’ [फोटोफिचर]

लोकपथ
0
Shares

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका थापाथलीसहितका विभिन्न क्षेत्रमा अनधिकृत रुपमा बस्दै आएका अव्यवस्थित बसोवासीहरुको घर टहरा भत्काएको महिना दिन बितिसक्यो । बागमती नदी किनारका अव्यवस्थित संरचनाहरू हटाएपछि उक्त क्षेत्र हाल बगरमा परिणत भएको छ ।

वर्षौँदेखि सुकमबासी बस्तीका रूपमा रहेको सो स्थानमा डोजर चलाइएपछि अहिले त्यहाँ भत्किएका संरचनाका अवशेषहरू मात्र बाँकी देखिन्छन् ।

बस्ती हटाइएको लामो समय बितिसक्दा पनि उक्त क्षेत्रको उचित व्यवस्थापन हुन सकेको छैन । एकातिर सरकार बागमती नदीको बहावलाई सहज बनाउँदै नदी किनारलाई सौन्दर्यकरण गर्ने योजनामा छ भने अर्कोतिर विस्थापित भएका बासिन्दाहरूको उचित पुनस्र्थापना र व्यवस्थापनको विषय अझै अन्योलमा छ । हाल थापाथली क्षेत्र उजाड र अस्तव्यस्त अवस्थामा छ ।

कुनै समय बाक्लो मानव बस्ती रहेको यो ठाउँमा अहिले भत्किएका भित्ता, इँटाका टुक्रा र पुराना लुगाफाटाका अवशेषहरू छरपस्ट छन् ।

विकासका नाममा बस्ती खाली गराइए पनि त्यसको ठाउँमा ठोस संरचना निर्माण वा सौन्दर्यकरणको कामले गति लिन नसक्दा यो क्षेत्र केवल भग्नावशेषको थुप्रो जस्तो देखिन पुगेको छ ।

नदी किनारलाई अतिक्रमणमुक्त बनाउने सरकारी अभियानले निरन्तरता पाए पनि दीर्घकालीन व्यवस्थापनको ठोस खाका नहुँदा थापाथलीको यो दृश्यले विकास र व्यवस्थापनबीचको द्वन्द्वलाई छर्लङ्ग पारेको छ । नदी किनारको यो अवस्थाले ‘विकासका लागि विस्थापन’ कि ‘व्यवस्थापनसहितको विकास’ भन्ने गम्भीर प्रश्न उब्जाएको छ ।

सरकारले बगर मात्र खाली गरेका होइन, बागमती कोरिडोर सफा गरेर काठमाडौंलाई सुगम पनि बनाउँदै छ । तर यसले सिर्जना गरेको आवास संकट र उठीबासको मानवीय घाउ धेरै समयसम्म दुखिरहनेछ ।

सरकारले बागमती नदी कोरिडोर अन्तर्गत थापाथली, गैरीगाउँ, मनोहरा, बालाजु लगायतका क्षेत्रका अनधिकृत संरचना र सुकमबासी बस्तीमा डोजर चलाएको महिना पुगिसकेको छ । अहिले त्यहाँ कुनै बेला हजारौँ मानिसको कोलाहल चल्ने टहराहरू छैनन्, केवल इँटाका टुक्रा, ढुङ्गा, र माटोको विशाल रास छ । नदी किनार अहिले एउटा उजाड बगरमा परिणत भएको छ । कताकता बिजुलीका पुराना पोल र खुला आकाशमुनि लथालिङ्ग कपडाहरू देखिन्छन्, जसले यहाँ कहिल्यै नमेटिने मानव बस्ती थियो भन्ने कुराको साक्षी दिन्छन् ।

सबैभन्दा बिझाउने मानवीय पाटो बगरको किनारमा भेटिएका केही सामानहरू हुन् । बगिरहेको धमिलो बागमती नदीको किनारमा एउटा पुरानो च्यातिएको डसना र नजिकै राखिएको एउटा कालो पुरानो साइकल देखिन्छ ।

विवरण संकलनका लागि पुगेका बाहेक घरटहरा भत्किएपछि केही नागरिक कता बसाइँ सरे, उनीहरू कसरी रात कटाइरहेका छन् भन्ने कुनै सरकारी तथ्याङ्क छैन । यो दृश्यले राज्यको विकास नीति कति निर्मम छ र गरिबको आवास अधिकार कसरी नामेट पारिएको छ भन्ने गम्भीर प्रश्न खडा गर्दछ ।

यस उजाड बगरको बीचमा एउटा विरोधाभासपूर्ण दृश्य देखिन्छ‘श्री शिवशक्ति काली मन्दिर’ । तीन तलाको सुनौलो छानो भएको यो आकर्षक देवालय भग्नावशेषको बीचमा ठिङ्ग उभिएको छ । महानगरको डोजरले वरपरका सम्पूर्ण निजी कुटीहरू भत्काए पनि यो देवालयलाई भने यथावत छोडिएको छ ।

मन्दिरको छेउमा एउटा कुकुर बफादार रक्षक झैँ शान्त बसेको छ । वरपर डोजरको कोलाहल चलिरहँदा पनि यो धार्मिक आस्थाको केन्द्र र कुकुरको बसाइले उजाड ठाउँमा पनि आशाको मधुरो प्रकाश फैलिरहेको भान हुन्छ ।

बागमती कोरिडोर सम्याउने काम तिब्र गतिमा चलिरहेको छ । डोजरहरु दिनभरि भग्नावशेष सम्याउन र धुलो उडाउन व्यस्त देखिन्छन् । कोइलाको कालो प्रदुषित धुवाँ ओकल्दै बगरमा दौडिरहेका यी पुराना यन्त्रहरूले काठमाडौंलाई सुगम र कोरिडोरलाई फराकिलो बनाउन काम गरिरहेका छन् । ठाउँ ठाउँमा मजदुरहरू र सरकारका पदाधिकारीहरू नाप–नक्शा लिइरहेको पनि देख्न सकिन्छ ।
भत्काइएका संरचनाको अवशेषमाथि स्थानीय र केही विपन्न मजदुरहरूले अनौपचारिक रोजगारी भेटेका छन् । कतिपय महिला तथा युवाहरू ठूला–ठूला फलाम काट्ने कटरहरू बोकेर कङ्क्रिटभित्र दबिएका फलामका रडहरू संकलन गरिरहेका छन् । उनीहरूले यसरी संकलन गरेका रडहरू कवाडीमा विक्री गरेर छाक टार्ने गर्छन् ।

टाउकोमा ठूला थुन्से र बोरा बोकेर सामान संकलन गरिरहेका मानिसहरूको यो दृश्यले काठमाडौंको विपन्न समाजको बाध्यात्मक जीवनस्तर र अनपेक्षित कवाडी बजारको अस्तित्वलाई छर्लङ्ग पार्दछ । बस्ती हटेपछि बागमती केही मात्रामा फराकिलो देखिए पनि नदीको रूप अझै कालो, फोहोर र अमिलो छ । नदीभित्र थुप्रिएको ढल, प्लास्टिकको फोहोर र बगरमा खनिएको माटोले गर्दा नदी झनै प्रदुषित हुने खतरा बढेको छ ।

नदीको पारिपट्टि ठडिएका आधुनिक भवनहरू र ‘नर्भिक इन्टरनेसनल अस्पताल’ बगरको धुलो र फोहोरको बीचमा ठडिए झैँ देखिन्छन् । नदी किनार सफा गरेर कङ्क्रिटको पर्खाल मात्र हाल्ने कि हरियाली पार्क पनि बनाउने भन्ने चुनौती सरकार र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति समक्ष तेर्सिएको छ ।

नदी किनार ढलान गरेर चौडा कोरिडोर बनाउनु शहरी ट्राफिक र सौन्दर्यीकरणका निम्ति सुखद् हो, तर दशकौंदेखि बसेका विपन्नहरूलाई कुनै विकल्प वा पुनस्र्थापना बिना यसरी उजाड बगरमा छोड्नुले मानव अधिकार र सामाजिक सुरक्षाको गम्भीर दायित्वलाई ओझेलमा पार्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?