कोशी प्रदेशसभामा प्रक्रिया विवाद, विपक्षीको अवरोधपछि बैठक प्रभावित

लोकपथ
14
Shares

काठमाडौं । कोशी प्रदेशसभामा सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियालाई लिएर बुधबार विपक्षी दलले तीव्र विरोध जनाएको छ ।

संशोधन प्रस्ताव दर्ता गर्न पर्याप्त समय नदिई नीति तथा कार्यक्रम पारित गरिएको आरोप लगाउँदै विपक्षी सांसदहरूले बैठक अवरुद्ध गरेका हुन् । प्रदेश सरकारले जेठ ६ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि केही दिनदेखि प्रदेशसभामा छलफल चलिरहेको थियो ।

छलफलका क्रममा उठेका प्रश्नको जवाफ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेठ १२ गते दिएका थिए । त्यसपछि सभामुख अम्बरबहादुर विष्टले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । ध्वनि मतका आधारमा नीति तथा कार्यक्रम पारित भएको सभामुखले घोषणा गरेलगत्तै विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका थिए ।

नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र प्रदेशसभा सदस्य राजेन्द्र राईले संशोधन प्रस्ताव दर्ता गर्न समय नदिई कार्यक्रम पारित गरिएको भन्दै विरोध जनाए । विपक्षी सांसदहरूको नाराबाजीपछि प्रदेशसभा बैठक केही समय तनावग्रस्त बनेको थियो ।

विवाद बढेपछि सभामुखले बैठक स्थगित गरेका थिए । बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक पनि विपक्षीको अवरोधका कारण नियमित रूपमा सञ्चालन हुन सकेन । विपक्षी दलका नेता आङ्बोले ‘संसदीय अभ्यास र स्थापित परम्परा विपरीत हतारमा नीति तथा कार्यक्रम पारित गरिएको’ आरोप लगाए । उनका अनुसार प्रदेशसभाका १७ जना सदस्यले असहमति जनाउँदा जनाउँदै प्रक्रिया अघि बढाइएको हो ।

यता सभामुख विष्टले भने प्रदेशसभा नियमावलीअनुसार संशोधन प्रस्ताव समयमै दर्ता नभएकाले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिएको स्पष्ट पारेका छन् । नियमावलीको परिच्छेद ८ अन्तर्गत नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव पेश गर्न सकिने व्यवस्था भए पनि तोकिएको समयमा प्रस्ताव नआएकाले प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।

विपक्षी र सभामुखबीच प्रक्रियागत व्याख्यामा मतभेद कायम रहँदा प्रदेशसभाको बैठक अन्योलमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?