नेपाल–रोमानिया आर्थिक सहकार्य विस्तार गर्न पराजुलीको जोड

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले नेपाल र रोमानियाबिचको द्विपक्षीय सम्बन्धलाई आर्थिक समृद्धि र व्यापारिक साझेदारीमार्फत अझ सुदृढ बनाउनुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित नेपाल–रोमानिया बिजनेस फोरम लाई सम्बोधन गर्दै उनले भौगोलिक दूरी भए पनि आर्थिक वृद्धि र दिगो विकासका साझा लक्ष्यले दुई देशलाई नजिक ल्याएको उल्लेख गरे ।

उनले उक्त फोरम व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरे । नेपाल र रोमानियाबीच हालको व्यापारिक परिमाण न्यून रहे पनि सहकार्य विस्तारका लागि ठूलो सम्भावना रहेको उनको भनाइ थियो ।

पराजुलीले नेपालको जलविद्युत्, पूर्वाधार, पर्यटन, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न रोमानियाली लगानीकर्तालाई आग्रह गरे । संयुक्त उपक्रममार्फत रोजगारी सिर्जना, उत्पादकत्व वृद्धि र नवीन प्रविधिको प्रवर्द्धनमा सहयोग पुग्ने उनले बताए ।

उनका अनुसार अब श्रमशक्तिसँगै सीप तथा दक्षता आदानप्रदानमा समेत ध्यान केन्द्रित गर्न आवश्यक छ । उनले नेपालले उच्च गुणस्तरका तयारी पोशाक, हस्तकला, जडीबुटी, कृषिजन्य उत्पादन तथा सूचना प्रविधि सेवा रोमानियामा निर्यात गर्न सक्ने उल्लेख गरे ।

पराजुलीले रोमानियालाई युरोपेली बजारको प्रवेशद्वारका रूपमा व्याख्या गर्दै नेपाली उत्पादनका लागि बजार पहुँच, प्रविधि हस्तान्तरण तथा औद्योगिक सहकार्य अत्यन्त महत्त्वपूर्ण हुन सक्ने बताए ।

उनले नेपाली श्रमिकहरू परिश्रमी र इमानदार रहेको उल्लेख गर्दै सुरक्षित तथा व्यवस्थित श्रम आप्रवासनले रोमानियाको श्रम माग पूर्ति गर्नुका साथै नेपालको रेमिट्यान्स, सीप विकास र आर्थिक लचिलोपनमा समेत योगदान पुर्‍याउने धारणा राखे ।

रोमानियामा नेपाली श्रमिकहरूको बढ्दो उपस्थितिलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँदै उनले पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने महत्वपूर्ण आधारका रूपमा चित्रण गरे । हिमालयको देश नेपाल र समृद्ध सांस्कृतिक सम्पदा बोकेको रोमानियाबीच पर्यटन प्रवर्द्धनका थप सम्भावना रहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?