सार्वजनिक चासोका मुद्दा हेरेको दिन सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीश पोखरेलको सुझाव

लोकपथ
0
Shares

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले सार्वजनिक सरोकारका मुद्दामा बहस वा फैसला गरेको दिन सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीश तथा कानून व्यवसायीलाई सुझाव दिएका छन् ।

काठमाडौंमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालमा आउने तत्कालीन प्रतिक्रिया प्रशंसा वा आलोचनाले न्यायाधीश र वकिलको मनोविज्ञानमा असर पार्न सक्ने बताए ।

उनका अनुसार कुनै फैसलापछि सामाजिक सञ्जालमा आउने अत्यधिक प्रशंसाले अतिरञ्जित आत्मविश्वास बढाउन सक्छ भने आलोचनाले नकारात्मक सोच विकास गर्न सक्छ ।

‘जुन सार्वजनिक चासो भएको मुद्दाको बहस वा फैसला हुन्छ, त्यो दिन बेलुकाको सामाजिक सञ्जाल नहेर्ने,‘उनले भने, ‘राम्रो फैसला हुँदा ‘म त भयंकर रहेछु’ भन्ने वा नराम्रो भए ‘म त राक्षस नै रहेछु’ भन्ने सोच आउन सक्छ ।’

न्यायाधीश पोखरेलले तत्कालीन प्रतिक्रियाभन्दा समयसँगै सार्वजनिक धारणा परिवर्तन हुने भएकाले संवेदनशील मुद्दामा संलग्न हुने व्यक्तिहरूले त्यस्तो दिन अनलाइन र सामाजिक सञ्जालबाट टाढा रहनु नै उपयुक्त हुने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?