‘हर्कराज राईसहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरुले नियमित रुपमा सभाको मर्यादाविपरीत संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने, गरेकोले म माननीय सदस्यहरुलाई प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ३० बमोजिम आफनो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु,’ बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले चेतावनी दिँदै भने ।
त्यसो त सोमबारको बैठकमा समेत सभामुख अर्यालले हर्कराज राई (हर्क साम्पाङ)सहित श्रम संस्कृति पार्टीका सांसदहरुलाई आफ्नो व्यवहार सच्याउन निर्देशन दिएका थिए ।
गत वैशाख २८ गते सोमबारदेखि संसदको बजेट अधिवेशनका रुपमा हेरिने बर्खे अधिवेशन चलिरहेको छ । हरेक बैठकमा प्रतिनिधि सभा नियमावली अनुसार सांसदहरुले जनताका आवाजहरु संसदमा उठाउने क्रम जारी छ । तर विपक्षी दल श्रम संस्कृति पार्टीका संसदीय दलका नेता समेत रहेका हर्क साम्पाङसहितका सांसदहरुले निरन्तर प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थिति प्रतिनिधि सभामा नियमित हुनुपर्छ भन्दै आवाज उठाइरहेका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकमा हर्क साम्पाङसहित श्रम संस्कृति पार्टीका सांसदहरुले प्ल्ेकार्डसहित ‘वेल’ घेराउ गरे । फागुन २१ को निर्वाचन र त्यसपछि बनेको वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार बनेपछि प्रतिनिधि सभामा ‘वेल’ घेराउ गरिएको यो नै पहिलो घटना बन्न पुग्यो ।
तत्काल सभामुख अर्यालले श्रम संस्कृति पार्टीलाई सचेत गराउँदै मर्यादा कायम गर्न निर्देशन दिएका थिए ।

‘विरोध गर्ने विभिन्न शैलीहरु हुन्छन्, तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ । मर्यादामा बसेर विरोध गरिदिन म यहाँहरुलाई यो आदेशकै रुपमा लिइदिन पनि म आग्रह गर्न चाहन्छु,’ श्रम संस्कृति पार्टीलाई सचेत गराउँदै सभामुखले सोमबार सचेत गराएका थिए । तर श्रम संस्कृति पार्टीका सांसदहरुले निरन्तर संसदमा प्रधानमन्त्री र सरकारका प्रतिनिधिहरुको खोजी गरिरहेका छन् ।
‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नैपर्छ । प्रश्नदेखि भाग्न पाइँदैन । जनमतलाई सम्मान गर । संसद छलेर अध्यादेश ल्याउन बन्द गर । संसदीय जिम्मेवारी बहन गर,’ सोमबार हर्कसहित श्रम संस्कृति पार्टीका सांसदहरुले संसदमा विरोध गर्दै देखाएको पर्चामा लेखिएको थियो । सो दिन ६ घण्टा भन्दा बढी चलेको प्रतिनिधि सभा बैठकमा हर्क साम्पाङसहित श्रम संस्कृति पार्टीले उक्त प्ले कार्ड छातीमै टाँसेर बसेका थिए ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा त सभामुख र हर्कबिच नोकझोक नै चल्यो । प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल चलिरहेको छ । आगामी बजेट कस्तो बनाउने भन्ने विषयको छलफलमा अर्थमन्त्री स्वयं उपस्थित नभएपछि हर्कले प्रश्न उठाए । उनले सत्तापक्षले धेरै बोल्न पाउने तर विपक्षी दलका सांसदहरुले बोल्नै नपाउने गरेको भन्दै त्यसबारे प्रश्न उठाए । मंगलबारको बैठकमा सबै सांसदहरु हिँडेको भन्दै हर्कले बैठक नै बहिस्कार गरेर हिँडे ।
त्यसो त हिजो (मंगलबार) को बैठकमा हर्कले मात्र होइन एमाले सांसद राजेन्द्रकुमार राईले संसदमा अर्थमन्त्रीको खोजी गरे । विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथि छलफलमा भाग लिँदै आफ्नो कुरा राख्न रोष्टममा पुगेका राईले अर्थमन्त्री नदेखेपछि अर्थमन्त्री अनिवार्यता हुने भन्दै स्मरण गराए । सभामुखले आफूले सचिवालयलाई जानकारी गराइसकेको भन्दै आफ्नो कुरा राख्न आग्रह गरे । उनले अर्थमन्त्री नआइ बजेटका सिद्धान्त र प्राथमिकतामाथि नबोल्ने भनेपछि सभामुखले १५ मिनेटका लागि बैठक नै स्थगित गरे । पुनः अर्थमन्त्री आएपछि बैठक बस्यो र अर्थमन्त्रीले जवाफ पनि दिए ।

बुधबारको बैठक सुरु हुने बित्तिकै पुनः हर्क साम्पाङले उही प्रक्रिया दोहोर्याए । आज पनि विभिन्न माग लेखिएका पर्चा बोकेर पुगेका हर्कसहित श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध जनाए । सभामुखले बस्न आग्रह गरे । तर हर्कले पर्चामा लेखिएका कुराहरु बाचन गरे ।
‘नियम १५ (२) पालना गर,
संसदीय सर्वोच्चता कायम गर,
सरकार संसदप्रति जवाफदेही बन्नैपर्छ,’
हर्कले बोकेको पर्चामा भनिएको थियो ।
यति भनेर हर्क आफ्नो आसनमा बसे । त्यसपछि श्रम संस्कृति पार्टीका अर्का सांसद आरेन राईले आफ्नो हातमा भएको पर्चामा लेखिएका कुराहरु बाचन गरे ।
‘विधिको शासन लागू गर,
हेपाह प्रवृत्ति बन्द गर,
प्रतिपक्षीको आवाज दबाउन पाइँदैन,
लोकतन्त्र सुनिश्चित गर, लोकतन्त्र सुनिश्चित गर ।’
आरेन राईले पनि आफ्नो पर्चा पढेर आसनमा बसे ।
त्यसपछि श्रम संस्कृतिका अर्का सांसद ध्रुवराज राईले पनि आफ्नो हातमा रहेको पर्चामा लेखिएका कुराहरु बाचन गरे ।
‘संसदीय सुनुवाइमा सहभागिता गर
संसदीय विभेद बन्द गर
प्रतिपक्षको सदन स्थापित गर
बोल्ने समय वृद्धि गर’
उनी पनि आफ्नो भनाइ राखेर आसनमा बसे ।
त्यसपछि बाँकी रहेका ३ सांसदहरुले पालैपालो सोही अनुसार लेखिएका पर्चा पढेर बसे । सभामुख अर्यालले पुनः संसदीय मर्यादामा रहन भन्दै हर्कसहित श्रम संस्कृति पार्टीका सांसदहरुलाई निर्देशन दिए ।
‘हर्कराज राईसहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरुले नियमित रुपमा सभाको मर्यादाविपरीत संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरुलाई प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ३० बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु,’ सभामुखको चेतावनी थियो ।
सभामुखको चेतावनीप्रति असन्तुष्ट जनाउँदै हर्कले पुनः संसदमा उठेर विरोध जनाए । सभामुखले बस्न आग्रह गरिरहे तर हर्कले आफ्नो कुरा राख्दै विरोध जनाइरहे अटेरी गरिरहे ।
‘हामीले महिनौँ पहिलेदेखि उठाएका प्रश्नहरु छन् । ती प्रश्नहरुको उत्तर हाम्रा मन्त्रीहरुले दिनुपर्छ भन्ने हाम्रो नियमावलीमा लेखिएको छ । तर यहाँ सरकारको पक्षबाट मन्त्रीहरुको उपस्थिति नहुनु, हामीले सोधेको प्रश्नहरुको उत्तर हामीले नपाउनु, यसले हाम्रो संसदको मर्यादा कायम भएको छ वा छैन भन्ने कुरा सोध्न चाहन्छु,’ हर्कले प्रश्न गरे ।
हर्कले अटेर गरेपछि सभामुख अर्यालले उनलाई माइक दिएर बोल्न समय दिए ।
‘जनताको प्रश्न राख्ने सदन हो यो । जनताको प्रश्नहरु सोधिने सदन हो । त्यो सदनमा सरकार र सरकारको प्रतिनिधि नआउनुले के जनाउँछ ? यहाँले कडा तरिकाले रुलिङ गरेर सरकार पक्षका मानिसहरुलाई पनि लिएर मन्त्रीहरुलाई पनि लिएर प्रश्नोत्तर गर्ने वातावरण बनोस्,’ उनले भने, ‘यो सरकार सदनप्रति उत्तरदायी नभएको हामीले महसुस गरेका छौँ । त्यसो हुनाले संसदीय मर्यादा अन्तर्गत प्रधानमन्त्रीदेखि लिएर मन्त्रिपरिषद्का सबै मन्त्रीहरु यही सदनका सदस्यहरु हुन्, उहाँहरुलाई रुलिङ गरेर ल्याउनुपर्छ । यो हाम्रो माग हो, यो माग पूरा नहुन्जेलसम्म हामी सधैँभरी पर्चा देखाइरहन्छौँ । आन्दोलन गरि नै रहन्छौँ ।’

आजैको बैठकमा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले संसदको विभिन्न समयमा उठेका प्रश्नहरुको जवाफ दिए । मन्त्रीले जवाफ दिइरहेको समयमा पुनः हर्क साम्पाङले केही प्रश्न राख्न पाउनुपर्ने भन्दै अवरोध सिर्जना गरे ।
सभामुख अर्यालले मन्त्रीले जवाफ दिइरहेका बेला सवालजवाफ गर्ने व्यवस्था नरहेको भन्दै बस्न आग्रह गरे । साथै सभामा सभामुखसँग समय मागेर मात्रै आफ्नो कुरा राख्नु पर्ने नियमावलीको व्यवस्था रहेको भन्दै बस्न आग्रह गरे पनि हर्कले भने अटेरी गरिरहे । त्यस सभामुख अर्यालले हर्कलाई सभाको गरिमा कायम राख्न निर्देशन दिए ।
सभामुख– बस्नुस् मान्य सदस्य
हर्क– प्रश्न सोध्न नपाउने हो त ?
सभामुख– मान्य सदस्य बस्नुस्
हर्क– मैले उहाँलाई प्रश्न सोध्न नपाउने हो ?
हर्कले अटेरी गरिरहेपछि सभामुखले मन्त्रीलाई आफ्नो भनाइ अघि बढाउन आग्रह गरे । उता हर्क असन्तुष्टी जनाउँदै आसनमा बसे ।
त्यसपछि युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संसदका विभिन्न समयमा उठेका प्रश्नबारे जवाफ दिन रोष्टममा पुगे । मन्त्रीले आफ्नो भनाइ सकेपछि पुनः श्रम संस्कृति पार्टीका सांसद आरेन राईले आफूहरुले थप प्रश्न सोध्न पाउनुपर्ने भन्दै विरोध जनाए । तर सभामुख अर्यालले मन्त्रीहरुले दिएको जवाफमा स्पष्टीकरण दिने व्यवस्था नरहेको भन्दै बस्न आग्रह गरे । सभामुखले आफ्नो दलका सांसद आरेनलाई बोल्न नदिएको भन्दै आफ्नो आसनबाट उठेर हर्कले पुनः विरोध जनाए ।
‘यसरी हुँदैन, हामीले उठाएको प्रश्नको जवाफ मन्त्रीले दिँदैन भने कसरी हुन्छ ? सधैँ रुलिङ मात्रै गरिरहनुहुन्छ, यसरी हुँदैन । हामीले राख्न चाहेको प्रश्नको उत्तर उहाँले दिने होला नि त,’ सभामुखसँग झोक्किँदै उनले भने ।
हर्कले आफूहरुले उठाएको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्ने अन्यथा आफूहरु निरन्तर विरोध जनाइरहने चेतावनी दिए । सभामुखले आफूले यसअघि नै जानकारी गराइसकेको भन्दै बस्न आग्रह गरे । तर हर्कले आफूहरुले प्रश्न सोध्न पाउनुपर्ने भन्दै अडान कायम राखिरहे ।
यता सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरुले गरेको व्यवहार संविधान, कानुन र नियमावली भन्दा फरक रहेको भन्दै सचेत गराए । श्रम संस्कृति पार्टीका सांसदहरुले मर्यादा विपरीत अभद्र व्यवहार गरेको आरोप लगाउँदै संसदीय मर्यादा कायम राख्न भन्दै सभामुखले सचेत गराए । तर हर्कले आफ्नो मनमा हजारौँ प्रश्नहरु रहेको, एउटा प्रश्न सोध्न समेत समय नपाएको गुनासो गरे ।

‘हाम्रो मनमा हजारौँ प्रश्नहरु छन्, एउटा प्रश्न राख्न खोज्दा पनि यस्तो गर्नुहुन्छ,’ हर्कले विरोध जनाउँदै भने ।
यी त भए हर्क र उनको दलले संसदमा केही दिनभित्रै देखाएको हर्कत । संसदको बजेट अधिवेशन सुरु भएको दिनबाटै कुनै न कुनै तरिकाले हर्कले प्रश्न उठाउने, सरकार खोज्ने काम गरिरहेका छन् । वैशाख ३० को संसद बैठकमा त नीति तथा कार्यक्रमबारे जवाफ दिन प्रधानमन्त्री नआएको भन्दै बैठक बहिष्कार गरेर संसद नै छाडेर हिँडे । संसदमा मात्र होइन सामाजिक सञ्जालमा समेत हर्क आफ्ना कुरा राखिरहेका छन्, सरकारमाथि प्रश्न गरिरहेका छन् ।
हर्क ती पात्र हुन्, जो ०७९ को स्थानीय निर्वाचनमा अटेरी गरेरै धरान उपमहानगरपालिकाको प्रमुख बने ।
त्यसबेला धराने जनतालाई पानी पिलाउने बाचासहित निर्वाचनमा होमिएर जितेका हर्कले जितेपछि पुनः अटेरी गरेरै श्रम संस्कृति अभियान चलाए । स्थानीय तहको प्रमुख भएर काम गरिरहेका हर्क एकाएक फागुन २१ गतेको निर्वाचन संसद प्रवेशको माध्यम बन्यो ।
आफूसहित तीन जना प्रत्यक्ष जिताएर अन्य ४ जना गरी ७ जनासहित संसदको पाँचौ ठूलो शक्तिका रुपमा छ, हर्कको श्रम संस्कृति पार्टी । मेयर बनेपछि श्रम संस्कृतिलाई प्राथमिकता दिएका हर्कले करोडौँ पर्ने केही विकास निर्माणका काम श्रमदानबाटै गराएका थिए । यसमा हर्कको आलोचना र प्रशंसा दुबै भयो । तर ती कुनै कुरालाई प्रवाह नगरी धराने जनतालाई पानी खुवाएका हर्क छन्, आफ्नै पारामा । मेयर बनेका ती हर्क र सांसद बनेका यी हर्क । बोलीमा लगाम लगाउन नजान्दा कहिलेकाँही विवादमा तानिने हर्क अहिले संसदमा सरकार खोज्दै अटेरी गरिरहेका छन्, अटेरी बनिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया