काठमाडौं । नेपालमा ‘करेन्ट’ नामबाट उत्पादित दुई चर्चित उत्पादन छन् । एउटा खाद्यपदार्थका नाममा चाउचाउ, अनि अर्कोचाहिँ स्वास्थ्यलाई असर गर्ने गुट्खा ।
यी दुवै नाम नेपालमा चलेका नाम हुन्, चाहे पिरो खान मन पराउने युवायुवतीको रोजाईको चाउचाउ होस् या अम्मलीहरुले खाने गुट्खा ।
अनि दुवै नाम वा उत्पादनको पछाडि उभिएको व्यापारिक समूहमा पनि केही समान नाम छन्, जो दुवै तर्फका सञ्चालक रहेका छन् । ती नामहरु हुन्, कमलकिशोर मालपानी, चुन्नप्रसाद शर्मा, श्रवण कुमार वेरीवाल । यी नामहरुका पछाडी देखिएर वा नदेखिएर जोडिने अर्को नाम हो, विवादित व्यवसायी दीपक भट्ट ।
यी दुवै व्यापारिक समूह अनि तिनका सदस्यहरुको राजनीतिक पहुँच पनि उत्तिकै रोचक छ । कम्पनी रजिस्ट्रार कार्यालयमा रहेका दर्ता प्रकृयाका कागजात हेर्दा यी दुवै कम्पनीमा समान व्यवसायिक समूहको प्रभाव देखिन्छ ।
कमलकिशोर मालपानी, चुन्न प्रसाद शर्मा, श्रवण कुमार वेरीवाल, टान बहादुर पाण्डे, बलराम अधिकारी र हिमालयन एसेस्टस् म्यानेज्मेन्ट प्रालिका तर्फबाट अख्तियारप्राप्त ईन्फिनिटी होल्डिङ प्रालिका दीपक भट्ट । यी ७ जनाको लगानीमा नागरिक स्वास्थ्यलाई असर गर्ने तर बिक्रीयोग्य करेन्ट गुट्खा उत्पादन गर्ने कम्पनी हो, श्रीराम टोबाको उद्योग प्रालि ।
मालपानी अनुसन्धानमा तानिनुपर्ने विषय न्युन कर तिरेर अधिक सम्पत्ति जोडेको विषय मात्रै होइन, उनले सप्तरीबाट पहिले लिएको नागरिकता र पछि रुपन्देहीबाट लिएको प्रतिलिपीमा नागरिकताको किसिम के कसरी परिवर्तन गरियो वा भयो, त्यस विषयमा समेत छानबिन गर्न सरकारले चासो देखाएको छैन ।
अनि कमलकिशोर मालपानी, चुन्न प्रसाद शर्मा, श्रवण कुमार वेरीवाल, ऋषि बहादुर भण्डारी क्षेत्री, सरिता सुवेदी, नरिस्वर शर्मा, भूमिराज पौडेल र नितेश मालपानी गरी आठ जनाको समूहमा लगानीमा खुलेको उद्योग हो, यशोदा फुड्स प्रालि । नेपालमा मन पराइने पिरो चाउचाउका रुपमा परिचित करेन्ट नामको चाउचाउ उत्पादन गर्ने कम्पनी यशोदा फुड्स प्रालिमा यी दुबै कम्पनीका केही साझेदारको संयुक्त लगानी छ ।
करेन्ट नाम फापेपछि मालपानी समूह नै मालामाल
व्यापारमा खप्पिस कमलकिशोर र चुन्न प्रसादको समूहलाई करेन्ट नाम अहिले फलिफाप बनेको छ । किनभने नेपालजस्तो अल्पविकसित देशमा गुट्खा र चाउचाउको राम्रो बजार छ, राम्रो व्यापार छ अनि मनग्य नाफा पनि छ ।
जंक फुड खानु र खुवाउनु हुँदैन भन्ने ज्ञानको विकास हुन नसक्दा चाउचाउ सबैभन्दा बढी बिक्री हुने वस्तु बनेको छ अनि क्यान्सर गराउने गुट्खाको व्यापार पनि घटेको छैन ।
बरु यही समूहले आर्थिक र करका नीतिसम्म खेल्न सकेका छन् र राजनीतिक नेतृत्वसम्म प्रभाव जमाउँदै आफ्ना साम्राज्य बनाइरहेका छन् ।
हो, यही व्यवसायिक समूह नीति बनाउने ठाउँ र राजनीतिक नेतृत्वमा पुग्ने वा पुग्न सक्ने सम्भावित व्यक्तिका कार्यालय, घर र कोठा कोठासम्म पुग्ने गरेको छ । त्यस्ता राजनीतिक दल, र उनीहरुका व्यक्तिहरुलाई यो समूहले सुरुवातदेखि नै लगानी गर्ने गरेको छ, जसका कारण उनीहरुका आगामी दिन अझै सुन्दर बन्ने गरेका छन् ।
संघर्षबाट व्यापारमा स्थापित मालपानी एण्ड शर्मा समूह कमजोर भएको अवस्थामा भने साथ खोज्दै दीपक भट्टसम्म पुगेका थिए । किनभने दीपक भट्ट ती पात्र हुन्, जो अत्यन्तै पहुँचवाला, राजनीतिक नेतृत्व र प्रशासकलाई आफ्नो कब्जामा राख्न सफल भनि सेटिङमा सफल मानिएका व्यक्ति हुन् । यिनै दीपक भट्टलाई दृश्यमै राखेर वा अदृश्यरुपमा साझेदार बनाएर यो समूहले आफ्नो व्यापारिक स्वार्थ पूरा गर्दै आएका छन् ।
भट्टको शक्ति र राजनीतिक वा प्रशासनिक पहुँचमा हालीमुहाली रहँदा यिनै मालपानी, शर्मा र भट्ट समूहले नेपालमा नाफाको सम्भावना भएका क्षेत्रमा दृश्यमै रहेर या अदृश्यरुपमा अधिकांश ठाउँमा लगानी गरेका छन् । वि.स. २०७८ को आसपासको समयमा यो समूहको लगानीका साझेदारका रुपमा सरकारी कर्मचारीका नातेदार र आफन्तहरु समेत मिसिएको देखिन्छ । उक्त साझेदारी स्वेट सेयरका रुपमा थियो वा रकम नै लगानी गरिएको हो, त्यो भने अझै स्पष्ट भइसकेको छैन ।
गत भदौ २३ र ३४ को जेन जी विद्रोह तथा गत फागुन २१ गतेको निर्वाचनको परिणामपछि राजनीतिक शक्ति र समीकरण फेरिँदा पनि यो समूहले राज्यसत्ता चलाउने र प्रतिपक्ष दुबै खेमालाई आफ्नो पक्षमा ल्याइसकेको छ । अघिल्लो राजनीतिक नेतृत्वसँगको उठबस र व्यापार र सम्पत्तिको स्रोतमा कैफियत भेटिएपछि दीपक भट्ट यतिबेला जेलमा छन् । अर्बौँ रुपैयाँको अपचलनको आरोपमा उनीमाथि सम्पत्ति शुद्धीकरण लगायतका कसूरमा अनुसन्धान भइरहेको छ ।
तीनै विवादित व्यवसायी दीपक भट्टसँग साझेदारी देखिँदा रास्वपाका सांसद तथा गृहमन्त्री सुदन गुरुङले राजीनामा दिन परेको थियो । तर मालपानी एण्ड शर्मा समूह र दीपक भट्टको बिचमा समेत व्यवसायिक सहयात्रा देखिँदासमेत उक्त समूहमाथि भने अनुसन्धान सुरु हुन सकेको छैन ।
आठ करोडको गाडीमा अहिलेका प्रधानमन्त्री वालेन्द्र साहलाई सवार गराउने उनै करेन्टवाला कमलकिशोर मालपानीका छोरा नितेश मालपानी रास्वपाका समर्थक हुन् ।
यता गत निर्वाचनमा रुपन्देही –२ बाट कांग्रेसका उम्मेदवार बनेका चुन्न प्रसाद शर्मा भने पराजित हुन पुगेका थिए ।
मुख्य दुई व्यापारिक साझेदारमध्ये एउटा रास्वपा समर्थक र अर्को कांग्रेस समर्थक रहेका छन्, किनभने जुन राजनीतिक शक्ति आएपनि मिलाउन सहज होस् भनेर नै उनीहरु यसरी फरकफरक राजनीतिक दल र शक्तिमा आवद्ध भएका छन् ।
मालपानी र हालका प्रधानमन्त्री वालेन्द्र शाहका सम्बन्धको कुरा त निर्वाचनको समयमा देखिएको ८ करोडवाला गाडीले पुष्टि नै गरिसकेको छ । यस्तो अवस्थामा देशकै सबैभन्दा ठूलो राजनीतिक दल, सरकारको नीति बनाउने अनि निर्णय गर्ने तहमा रहेका व्यक्ति नै मालपानीको खास व्यक्ति भएर होला, मालपानी समूहमाथि सार्वजनिक रुपमा उठेको प्रश्नमा राज्यले छानबिन गर्ने चासोसमेत देखाएको छैन ।
दीपक भट्ट, शंकरलाल अग्रवाल, शुलभ अग्रवाल, शेखर गोल्छा लगायतका व्यक्ति र व्यवसायीमाथि सरकारले धारेहात लगाइरहँदा करेन्ट ब्राण्डमा फलिफाप भएका मालपानी र शर्माको समूहलाई भने सरकारले छोएको छैन ।
किनभने सोही समूहमा रहेर अकूत कमाएका तर राज्यलाई न्युन कर तिरेका व्यवसायिक व्यक्ति र घरानालाई भने सरकारले अनुसन्धानको दायरामासमेत ल्याएको छैन । यो समूहले देशको राजनीतिक नेतृत्वलाई नै ‘करेन्ट’ लगाएको आरोप समेत छ ।
मालपानी अनुसन्धानमा तानिनुपर्ने विषय न्युन कर तिरेर अधिक सम्पत्ति जोडेको विषय मात्रै होइन, उनले सप्तरीबाट पहिले लिएको नागरिकता र पछि रुपन्देहीबाट लिएको प्रतिलिपीमा नागरिकताको किसिम के कसरी परिवर्तन गरियो वा भयो, त्यस विषयमा समेत छानबिन गर्न सरकारले चासो देखाएको छैन । कतै यो समूहको स्वार्थ र योजनामा दीपक भट्टलाई जेल पठाएर आफूहरु मात्रै हालीमुहाली गर्ने योजना त बनेको छैन ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया