‘लालीबजार’ वर्षौँसम्म सम्झिने चलचित्र बनेको छ : नीर शाह

लोकपथ
28
Shares

काठमाडौं । अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्र ‘लालीबजार’ वर्षौँसम्म सम्झिने चलचित्र बनेको बताएका छन् ।

काठमाडौंस्थित जय नेपाल चलचित्र भवनमा चलचित्र हेरेपछि उनले विषयवस्तु, निर्देशन र कलाकारहरूको जीवन्त अभिनयका कारण ‘लालीबजार’ दीर्घकालसम्म चर्चामा रहने बताएका हुन् ।

शाहले भने, ‘निर्माता, निर्देशक र कलाकारहरूले वर्षौँसम्म सम्झिने सुन्दर कोसेलीका रूपमा चलचित्र ‘लालीबजार’ प्रस्तुत गर्नुभएको छ । ठूलो अपेक्षासहित हलमा छिरेको थिएँ, तर अपेक्षाभन्दा राम्रो अनुभव लिएर बाहिर निस्किएँ । सबै कलाकारहरूको अभिनय जीवन्त छ, हेर्नै पर्ने चलचित्र बनेको छ ।’

चलचित्र हेरेपछि अभिनेत्री प्रियङ्का कार्की, वर्षा राउत, अभिनेता आयुष्मान जोशी, गायक खेम सेन्चुरीलगायतले पनि चलचित्रको प्रशंसा गरेका छन् ।

मुख्य भूमिकामा रहेकी अभिनेत्री स्वस्तिमा खड्काले दर्शक र कलाकारबाट प्राप्त सकारात्मक प्रतिक्रियाले सम्पूर्ण टिम उत्साहित भएको बताइन् ।

‘चलचित्र प्रदर्शन भएदेखि नै हामी दर्शकसँग भेटघाटमा छौँ । कलाकर्मीदेखि सामान्य दर्शकसम्म सबैले चलचित्र मन पराउनुभएको छ, यो नै हाम्रो सफलता हो,‘ उनले भनिन् ।

उनका अनुसार चलचित्र टोली पूर्वी नेपालका विभिन्न सहरमा प्रचार अभियानमा रहेको छ । हाल हामी विर्तामोडमा छौँ, त्यसपछि धरान, विराटनगर र इटहरीमा पुग्नेछौँ, ‘उनले जानकारी दिइन् ।

चलचित्रमा स्वस्तिमा खड्कासँगै रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रशंसा सुवेदी, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी र वीरवल चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?