बजेट छलफलमा अर्थमन्त्री नआएपछि सांसद सिंहको आपत्ति, संसदको औचित्य नै समाप्त पार्न खोजेको आरोप

लोकपथ
175
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.अमरेशकुमार सिंहले विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अनुपस्थित भएको भन्दै कडा आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा जारी छलफलमा भाग लिँदै उनले संसदीय व्यवस्थाको परम्परा तोड्ने नाममा सरकारले नहुने काम गरिरहेको आरोप लगाए । उनले बजेटसम्बन्धी छलफलमा अर्थमन्त्रीको अनिवार्य उपस्थिति रहने संसदीय अभ्यास भए पनि त्यसको पालना नभएको भन्दै आपत्ति जनाए ।

सांसद सिंहले परराष्ट्र मन्त्रालयको बजेट परराष्ट्र मन्त्रीले बनाउने विषय नभएको उल्लेख गर्दै बजेट विनियोजनसम्बन्धी छलफलमा सम्बन्धित अर्थमन्त्री उपस्थित नहुनु अस्वीकार्य भएको टिप्पणी गरे । उनले यस्तो अभ्यासले संसदको औचित्यमाथि नै प्रश्न उठाउने अवस्था सिर्जना गरेको दाबी गरे ।

उनले भने, ‘परम्परा तोड्ने नाममा सबै परम्परा तोडियो । बजेट विनियोजन प्राथमिकतामा अर्थमन्त्री जहिले पनि बस्ने सिस्टम थियो । अहिले त्यो देखिएन । यो बीस वर्षको संसदीय कार्यकालमा पहिलो पटक यस्तो देख्दैछु ।’

सिंहले नयाँपनको नाममा स्थापित संसदीय अभ्यास भत्काउन नहुने भन्दै यदि सबै संरचना परिवर्तन गर्ने हो भने प्रधानमन्त्री, मन्त्री पददेखि सबै प्रणाली नै परिवर्तन गर्नुपर्ने तर्क गरे ।

उनले संसदमा बजेट छलफलका बेला अर्थमन्त्रीको अनुपस्थिति गम्भीर विषय भएको भन्दै यसले संसदीय प्रणाली कमजोर बनाउने चेतावनीसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?