काठमाडौं । नेकपा (एमाले) का सांसद क्षितिज थेबेले ताप्लेजुङस्थित पाथीभरा (मुकुम्लुङ) मा निर्माणाधीन केवलकार परियोजना तथा सडक पूर्वाधारको सुस्त गतिलाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद थेबेले राष्ट्रिय गौरव र स्थानीय विकाससँग जोडिएको पाथीभरा केवलकार परियोजनाबारे सरकारको आधिकारिक धारणा स्पष्ट गर्न माग गरे । उनले परियोजनाको निर्माण रोकिएको भन्ने मौखिक सूचनाहरू बाहिरिएपछि ताप्लेजुङका जनतामा अन्योल बढेको बताए ।
उनका अनुसार एकातिर परियोजनाको विरोध भइरहेको छ भने अर्कोतर्फ यसलाई विकास, पर्यटन र रोजगारीका लागि अपरिहार्य आयोजना मानिएको छ । यस्तो अवस्थामा धार्मिक तथा सांस्कृतिक आस्था र विकासबिच सन्तुलन कायम गर्न सरकारसँग ठोस योजना आवश्यक रहेको उनले जोड दिए ।
सांसद थेबेले भने, ‘यो आयोजना बन्ने हो कि रोकिने हो ? सरकारको आधिकारिक धारणा के हो ? ताप्लेजुङका जनता स्पष्ट जानकारीको पर्खाइमा छन् ।’
उनले ताप्लेजुङबाट काठमाडौं आउने सडक खण्डको अवस्था अत्यन्तै कमजोर रहेको उल्लेख गर्दै डोजरको सहायताले मात्र बाटो खुलाएर यात्रा सम्भव भएको अनुभवसमेत सुनाए ।
त्यसैगरी, उनले लुम्बिनी पुलदेखि दोभान बजार खण्डसम्मको सडक निर्माणमा भइरहेको ढिलाइप्रति पनि कडा आपत्ति जनाए । विसं २०७७ मा ठेक्का लागेको र २०८० मा म्याद सकिएर पुनः थप गरिएको भए पनि तीन वर्ष बितिसक्दा समेत ट्र्याक खोल्ने कामसमेत पूरा हुन नसकेको उनले बताए ।
सांसद थेबेले अलपत्र अवस्थामा रहेको उक्त सडक खण्डको काम तत्काल अघि बढाउन र पूर्वाधार निर्माणमा देखिएको ढिलासुस्ती अन्त्य गर्न सरकारसँग आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया