मदनलाई स्मरण गर्दै एमाले नेतृत्वप्रति विद्याको कटाक्ष– ‘सिद्धान्त र व्यवहारमा फरक देखियो’

लोकपथ
14
Shares
फाइल तस्बिर

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीहरुप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गरेकी छन् ।

आइतबार काठमाडौंको बल्खुस्थित मदननगरमा आयोजित ३३औँ मदन आश्रित स्मृति सभामा बोल्दै एमाले नेतृ समेत रहेकी पूर्वराष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले एमालेले आत्मा सुधार, एकता र जनतासँगको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरी राखेर अघि बढ्न पनि आवश्यक रहेको बताइन् । उनले एमालेमा यदाकदा सिद्धान्त र व्यवहारबिच देखिने असन्तुलनका कारण समाजमा प्रश्नहरु उठने गरेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्नका लागि जनमुखि कार्यशैली, आत्म अनुशासन र सेवाभावलाई व्यवहारमा उतार्दै अघि बढ्न आवश्यक रहेको पनि बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले एमालेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको काममा महत्वपूर्ण भुमिका निर्वाह गरेको स्मरण गराउँदै अब जनताको सेवाभावमा बढि केन्द्रित हुनुपर्ने बताइन् ।

जनमुखी कार्यशैली, आत्मानुशासन र सेवाभावका साथ अघि बढे मात्रै राजनीतिक दलहरुको शक्ति बलियो हुने उनको भनाई थियो ।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘विगतमा उपलब्धिहरुसँगै वर्तमानका चुनौतीहरुप्रति पनि हामी गम्भीर हुन आवश्यक छ । यदाकदा सिद्धान्त र व्यवहारबिच देखिने असन्तुलनका कारण समाजमा प्रश्नहरु उठने गरेका छन् । जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति हो । यदि पार्टी र जनताबिच दूरी बढयो भने राजनीतिक आन्दोलनको मर्म कमजोर हुन्छ । त्यसैले हामीले जनताको भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नुपर्दछ । राजनीति जनसेवा र समाज रुपान्तरणको अभियान हो भन्ने मान्यतालाई स्थापित गर्न अविचलित ढंगले हामी क्रियाशील हुनुपर्दछ । आज मदन आश्रितको स्मृतिको अवसरमा हामीले आत्मा सुधार, एकता र जनतासँगको सम्बन्ध सुदृढिकरण तथा राष्ट्र र जनताको हितलाई सर्वोपरी राखेर अघि बढने प्रेरणा लिनुपर्दछ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको काममा महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । अव पार्टीले पुन जनविश्वासलाई अझ सुदृढ बनाउन जनमुखि कार्यशैली आत्म अनुशासन र सेवाभावलाई व्यवहारमा उतार्नुपर्दछ । कार्यकर्ताहरु जनताको बीचमा पुग्नुपर्दछ । जनताको दुखसुखमा सहभागी हुनुपर्दछ । र समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय बन्नुपर्दछ ।’

पूर्वराष्ट्रपति भण्डारीले जनताको सुखदुखमा साथ दिन र समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा पनि सक्रिय हुन एमाले नेता, कार्यकर्तालाई सचेत गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?