श्रम मन्त्रालयका काम नागरिकले महसुस गर्ने गरी देखिनुपर्छ : मन्त्री यादव

लोकपथ
0
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले मन्त्रालयले गर्ने हरेक कार्य र निर्णयको प्रतिफल आम नागरिकले महसुस गर्ने गरी देखिनुपर्ने बताएका छन् ।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति ९एमडेक० को बैठकलाई सम्बोधन गर्दै उनले तथ्याङ्कमा मात्र सुधार देखिएर नपुग्ने भन्दै त्यसको प्रभाव नागरिकको जीवनस्तर र सन्तुष्टिमा प्रत्यक्ष देखिनुपर्नेमा जोड दिए ।

मन्त्री यादवले केही क्षेत्रमा उपलब्धि राम्रो देखिए पनि सेवा प्रवाहका कतिपय पक्ष अझै सुधार गर्नुपर्ने अवस्था रहेको औँल्याए ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका वा अलपत्र परेका श्रमिकहरूको उद्धारका लागि ‘नेशनल लेबर वेलफेयर स्किम’ स्थापना गर्नुपर्ने आवश्यकता उनले औँल्याए । साथै, श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूको हकमा पनि मानवीय आधारमा शव ल्याउने र उद्धार गर्ने प्रक्रियालाई औपचारिकता दिनुपर्ने उनको भनाइ थियो ।

आन्तरिक रोजगारीका सन्दर्भमा उनले तालिम र सीप प्रदान गरेर मात्र नपुग्ने भन्दै त्यसको प्रतिफलको प्रभाव मूल्याङ्कन (अडिट) हुनुपर्ने बताए । सीप सिकेका व्यक्तिहरूले रोजगारी वा स्वरोजगारी पाएकोरनपाएको र उनीहरूको जीवनस्तरमा आएको परिवर्तनको नियमित मूल्याङ्कन गर्न उनले निर्देशन दिए ।

मन्त्रालयको कार्यसम्पादनमा हुने ढिलाइ अन्त्य गर्न परराष्ट्र, अर्थ र शिक्षा मन्त्रालयसँगको समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए ।

त्यस्तै, तथ्याङ्क आदानप्रदानका लागि ‘डाटा शेयरिङ’ प्रणाली विकास गर्नुपर्ने र सबै काम कारबाहीलाई पूर्ण रूपमा डिजिटलाइजेशन गर्नुपर्ने निर्देशन दिँदै उनले म्यानुअल प्रणालीलाई क्रमशः निरुत्साहित गरिने स्पष्ट पारे ।

उनले भने, ‘श्रम स्वीकृति भए नभएको प्राविधिक विषयभन्दा माथि उठेर मानवीय आधारमा आफ्ना नागरिकको उद्धार गर्नु राज्यको दायित्व हो। हाम्रो सफलता बैठकको संख्यामा होइन, नागरिकले कति सहज, छिटो र विश्वसनीय सेवा पाए भन्नेमा निर्भर हुन्छ ।

श्रम अडिट र निरीक्षणलाई तीव्रता दिँदै श्रम शोषण गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन पनि उनले निर्देशन दिए ।

त्यस्तै, पीडित नागरिकहरू न्यायका लागि विभिन्न निकाय धाउनुपर्ने अवस्थाको अन्त्य गरी सम्बन्धित डेस्कबाटै समस्या समाधान गर्ने व्यवस्था मिलाउन उनले ध्यानाकर्षण गराए ।

पुँजीगत खर्च वृद्धि गर्न र चालु आयोजनाहरूको प्रभावकारिता सुनिश्चित गर्न नियमित अनुगमन आवश्यक रहेको उनको भनाइ छ । साथै मन्त्रालयका सकारात्मक कामहरू आम नागरिकसम्म पुर्‍याउन सूचना प्रविधि र सञ्चार टोलीलाई सक्रिय बनाउन पनि उनले निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?