मूल्य समायोजनको माग गर्दै धनुषाका निर्माण व्यवसायी आन्दोलित, निर्माण कार्य ठप्प पार्ने चेतावनी

लोकपथ
0
Shares

काठमाडौं । निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिको अनुपातमा सरकारले मूल्य समायोजन नगरेको भन्दै धनुषाका निर्माण व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका छन् । 

धनुषा निर्माण व्यवसायी संघले इन्धन र निर्माण सामग्रीको मूल्यमा भारी वृद्धि हुँदा साविककै दररेटमा काम गर्न नसकिने स्पष्ट पारेको छ । संघका अध्यक्ष अशोककुमार चौधरीकाअनुसार पछिल्लो समय डिजेल, मट्टितेल, बिटुमेन र डन्डी लगायतका अत्यावश्यक सामग्रीको मूल्य अप्रत्याशित रूपमा बढेको छ । इन्धनमा ३९ प्रतिशत र बिटुमेनमा ४९ प्रतिशतसम्म मूल्यवृद्धि भएको तथ्यांक प्रस्तुत गर्दै उनले सरकारले कानुनमा व्यवस्था भएबमोजिमको मूल्य समायोजन नगरेकोमा आपत्ति जनाए ।  

व्यवसायीहरूले हाल बजारमा बिटुमेनको कृत्रिम अभाव सिर्जना गरिएको र क्रसर उद्योगहरू सहज रूपमा सञ्चालन हुन नसक्दा बालुवा–गिट्टीको समेत अभाव रहेको गुनासो गरेका छन् । 

जिल्ला दररेट १०५ रुपैयाँ रहेको बिटुमेनलाई हाल १६० रुपैयाँ तिर्दा पनि सहजै नपाइने अवस्था रहेको व्यवसायीहरूको दाबी छ । आफ्ना मागहरू पूरा नभए धनुषाका सम्पूर्ण निर्माण व्यवसायीहरूले स्वतः स्फूर्त रूपमा काम बन्द गर्ने चेतावनी दिएका छन् । 

आन्दोलनको कार्यक्रमअन्तर्गत शुक्रवार र सोमवार जिल्लाका विभिन्न विकास कार्यालयहरूमा ज्ञापनपत्र बुझाउने र धर्ना दिने कार्यक्रम तय गरिएको छ । 

उनले भने, ‘सरकारी कानुनमा मूल्य सूचकांक निश्चित प्रतिशतभन्दा बढी भएमा मूल्य समायोजन गर्ने प्रावधान छ, तर हालसम्म सरकारले यसतर्फ कुनै चासो देखाएको छैन । छिमेकी मुलुकहरू भारत र बंगलादेशले निर्माण क्षेत्रमा मूल्य समायोजन गरिसक्दा नेपालमा भने व्यवसायीहरूलाई मारमा पारिएको छ ।’

संघले सरकारी अधिकारीहरूलाई निर्माण व्यवसायीमाथि कामको दबाब नदिन आग्रह गर्दै वर्तमान परिस्थितिमा काम अघि बढाउन नसकिने जानकारी गराएको छ । 

अध्यक्ष चौधरीकाअनुसार मूल्यवृद्धिका कारण देशभरका निर्माण व्यवसायीहरूले हालसम्म करिब १० अर्ब रुपैयाँ नोक्सानी बेहोरिसकेका छन् । समयमै मूल्य समायोजन नभए व्यवसायीहरूको बैंक ग्यारेन्टी जफत हुने र धेरै व्यवसायीहरू टाट पल्टिने जोखिम बढेको भन्दै संघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । 

सार्वजनिक विकासका कामहरू ठप्प हुनुमा व्यवसायी नभई सरकारको उदासीनता जिम्मेवार रहेको उनीहरूको ठहर छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?