‘मानव बेचबिखनको बदलिँदो स्वरूप-जटिल बन्दै उद्धार प्रक्रिया’

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा मानव बेचबिखनको स्वरूपमा आएको तिब्र परिवर्तनले यसको नियन्त्रण र उद्धार प्रक्रियामा नयाँ तथा जटिल चुनौतीहरू थपिएका छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो र स्थानीय तहका सरोकारवालाहरूले पछिल्लो समय वैदेशिक रोजगारी तथा आप्रवासनका नाममा हुने मानव बेचबिखनको स्थिति भयावह बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । मानव बेचबिखन नियन्त्रणका लागि ‘पीडित केन्द्रित न्याय प्रणाली’ आवश्यक रहेको विज्ञहरूको ठम्याइ छ ।

यसका लागि स्थानीय तहसम्म प्रभावकारी सूचना प्रणालीको विकास, अन्तर्राष्ट्रिय निकायहरूसँगको समन्वय र वैदेशिक रोजगारीमा जानेहरूको सूक्ष्म अध्ययन जरुरी छ । साथै स्वदेशमै कृषि र उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गरी वैदेशिक रोजगारीको बाध्यतालाई न्युनिकरण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

नेपालमा मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको र यसले जटिल चुनौती थपेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरोका प्रहरी उपरीक्षक (एसपी) हरिबहादुर ओलीका अनुसार पछिल्लो समय वैदेशिक रोजगारी र आप्रवासनका नाममा हुने मानव बेचबिखन तथा ओसारपसारको स्थिति भयावह देखिएको छ ।

विगतमा अन्य प्रहरी इकाईहरूबाट सम्पादन हुँदै आएको मानव बेचबिखन सम्बन्धी कार्यलाई विशिष्टीकृत ढंगले अगाडि बढाउन वि.सं. २०७५ सालमा यस ब्युरोको स्थापना गरिएको थियो । हाल विद्यमान ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४’ पुरानो भइसकेको र यसले मानव तस्करी, जबरजस्ती श्रम (फोस्र्ड लेबर) र आप्रवासनका नवीन चुनौतीहरूलाई पूर्ण रूपमा सम्बोधन गर्न नसकेकाले ऐन संशोधनको प्रक्रियामा रहेको एसपी ओलीले जानकारी दिएका छन् । आर्थिक वर्ष २०८०/ ८१ को तथ्याङ्कअनुसार ब्युरो र अन्य सरोकारवाला निकायको समन्वयमा विभिन्न मुलुकबाट ठूलो सङ्ख्यामा पीडितहरूको उद्धार गरिएको छ । प्राप्त विवरणअनुसार ओमानबाट ११७, कुवेतबाट ५२५, युएईबाट ५३, दक्षिण एशियाली मुलुकहरूबाट ३४०, दक्षिणपूर्वी एशियाबाट ९६ र युरोपबाट २८ जनाको उद्धार गरिएको छ ।

यसैगरी दक्षिणपूर्वी एशियाली मुलुकहरूबाट डिपोर्ट (निष्कासित) भएर आउनेको सङ्ख्या पनि उच्च रहेको छ । म्यानमारबाट १०६ जना (७ महिला र ९९ पुरुष) र कम्बोडियाबाट २३२ जना गरी जम्मा ३३८ जनाको उद्धार तथा फिर्ती भएको छ । यस्तै, अमेरिका जाने अवैध बाटो (डन्की रुट) बाट ९६३ जना डिपोर्ट भएका छन्, जसमा सबैभन्दा बढी दाङका २८७, पश्चिम रुकुमका २११ र पूर्वी रुकुमका ८४ जना रहेका छन् ।

पछिल्लो समय कम्बोडिया र म्यानमारका ‘स्क्याम सेन्टर’ हरूमा नेपालीहरूलाई वन्धक बनाई अनलाइन ठगीमा लगाउने गरिएको अनुसन्धानले देखाएको छ । आकर्षक तलबको प्रलोभनमा पारिएका नेपालीहरूलाई त्यहाँ शारीरिक तथा मानसिक यातना दिने गरिएको छ । यसै गम्भीरतालाई बुझेर कम्बोडिया सरकारले हालै ५ लाख डलरसम्म जरिवाना र जन्मकैदसम्मको सजाय हुनेगरी नयाँ कानून पारित गरेको एसपी ओलीले बताए । अमेरिका जाने प्रलोभनमा परेर नेपालीहरूले करोडौं रुपैयाँ गुमाउने गरेको र ज्यान जोखिममा पार्ने गरेको पाइएको छ ।

दलालहरूले अफ्रिकी मुलुक र मेक्सिको हुँदै अवैध बाटोबाट लैजाने क्रममा पीडितहरूलाई वन्धक बनाउने, कुटपिट गर्ने र भिडियो बनाएर परिवारसँग थप रकम असुल्ने गरेको पाइएको छ । अधिकांश कारोबार अनौपचारिक (हुन्डी) माध्यमबाट हुने भएकाले कानुनी कारबाहीका लागि प्रमाण जुटाउन कठिन हुने गरेको ब्युरोको निष्कर्ष छ । वास्तविक पीडित चिन्न गाह्रो हुनु र पीडितहरूले नै उजुरी दिन नचाहनु, लेनदेनका प्रमाणहरू नहुनु र पीडितले पीडकको स्पष्ट विवरण खुलाउन नसक्नु, भिजिट भिसाको माध्यमबाट अवैध रूपमा मान्छे ओसार्ने प्रवृत्ति बढ्नु, हालको २५ दिने अनुसन्धान अवधि अपर्याप्त हुनु, कम्बोडिया जस्ता धेरै देशहरूमा कूटनीतिक नियोग नहुँदा उद्धारमा समस्या हुने गरेको उनको भनाइ छ । प्रहरी उपरीक्षक ओलीले मानव बेचबिखन नियन्त्रणका लागि ‘पीडित केन्द्रित न्याय प्रणाली’ आवश्यक रहेकोमा जोड दिए ।

यसका लागि स्थानीय तहसम्म सूचना प्रणाली प्रभावकारी बनाउनुपर्ने, वैदेशिक रोजगारी र अध्ययन भिसामा जानेहरूको सुक्ष्म अध्ययन गर्नुपर्ने र अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय बढाउनुपर्ने उनको सुझाव छ । ब्युरोले हाल सूचना सङ्कलन, पीडित पहिचान, उद्धार, काउन्सिलिङ र सरकारी वकिलमार्फत मुद्दा चलाउने प्रक्रियालाई तिब्रता दिएको छ । साथै, इन्टरपोल र युरोपोलमार्फत विदेशमा रहेका पीडतहरूलाई कानूनी दायरामा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले देशमा विद्यमान कानूनको कार्यान्वयन पक्ष फितलो हुँदा मानव बेचबिखन र श्रम शोषणका घटनाहरू बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेकी छन् । मानव बेचबिखन नियन्त्रण कानून संशोधन र श्रम आप्रवासनसँगको अन्तर सम्बन्को सम्बोधनबारे आयोजित कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले संविधान र कानून बने पनि त्यसको सही पालना हुन नसक्दा नागरिकहरूले विभिन्न सास्ती भोग्नुपरेको बताइन् ।

उपप्रमुख चौधरीले डान्स बार, मसाज पार्लर र अर्केस्ट्रा जस्ता क्षेत्रमा महिला तथा बालबालिकाहरू बाध्यताले श्रम शोषणमा परिरहेको उल्लेख गरिन् । विशेषगरी भारतसँगको खुला सीमानाका कारण विना राहदानी र भिसा आवतजावत सहज हुँदा नेपाली महिलाहरू शोषणको उच्च जोखिममा रहेको उनको भनाइ छ ।

कानूनमा प्रयोग गरिएका कतिपय शब्दहरूले महिलाको मानमर्दन गरिरहेकोतर्फ ध्यानाकर्षण गराउँदै उनले ‘वेश्यावृत्ति’ वा ’वेश्यागमन’ जस्ता अपमानजनक शब्दहरूलाई परिमार्जित गरिनुपर्ने माग गरिन् । उनले यस्तै भन्सारमा सर्वसाधारणले सानो परिमाणको सामान ल्याउँदा भोग्नुपर्ने सास्ती र ठूला कर छली गर्नेहरूमाथि हुने फितलो निगरानीको समेत आलोचना गरिन् ।

समाजमा व्याप्त बालश्रमबारे बोल्दै उनले पसल तथा ग्यारेजमा काम गर्ने बालबालिकाहरूको अवस्था दयनीय रहेको बताइन् । बालश्रमिकहरूको उद्धार गरे पनि उनीहरूको उचित पुनस्र्थापना र व्यवस्थापनमा राज्यको संरचना अझै प्रभावकारी हुन नसकेको उनको अनुभव छ ।

उनका अनुसार नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका वा पीडित महिलाहरूलाई आयआर्जनका लागि लघु उद्यमसँग जोड्ने कार्य गरिरहेको छ । उपप्रमुख चौधरीले विदेश जानुपूर्व आवश्यक कागजातको प्रतिलिपि घरमा छोड्न र सीप सिकेर मात्र जान आग्रह गरिन् ।

हतारमा वा प्रक्रिया पूरा नगरी जाँदा विदेशमा संकटमा परिने र उद्धार गर्न कठिन हुने उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?