काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीको टोलीले पाण्डेलाई मंगलबार राति सिन्धुलीबाट पक्राउ गरेको हो ।
सरकारी स्वामित्वमा आइसकेको स्मार्ट सेलको सम्पत्ति गैरकानुनीरुपमा लिलाम बिक्री गरेको अभियोगमा सिआइबीले पाण्डेलाई पक्राउ गरेको हो । सिआइबीको टोलीले पाण्डेलाई सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित बसपार्कबाट वैशाख २९ गते राति पक्राउ गरेको हो ।
यसअघि प्रहरीले स्मार्ट सेलका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई पक्राउ गरिसकेको थियो । उनीमाथि सिआईबीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो ।
सरकारी स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको सम्पत्ति लिलामीका क्रममा ठगी तथा आपराधिक विश्वासघात गरेको अभियोगमा प्रहरीले मंगलबार राति इन्भेष्टमेन्ट मेगा बैंकका सिईओ ज्योति प्रकाश पाण्डेलाई पनि पक्राउ गरी काठमाडौं ल्याएको हो ।
सिआईबीका अनुसार स्मार्ट टेलिकम प्रालिले २०७० वैशाख २ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवाको अनुमति पत्र लिएकोमा नियमानुसार नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५९५० बमोजिम २०८० वैशाख ३ गते देखि उक्त अनुमति पत्र स्वतः खारेज भएको थियो ।
अनुमति पत्र खारेज भएसँगै दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ अनुसार स्मार्ट टेलिकमका सम्पूर्ण सम्पत्ति, पूर्वाधार, संरचना, प्रणाली तथा सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा गएको थियो ।
तर सरकारी स्वामित्वमा गइसकेको स्मार्ट टेलिकमको सम्पत्ति आफूहरूले ऋण दिएको भन्दै ऋण असुलीका लागि इन्भेष्टमेन्ट बैंकका सिइओ ज्योतिप्रकाश पाण्डे आफैँ अध्यक्ष रही लोन रिकभरी कमिटी गठन गरेका थिए । सोही समितिले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रियामा लगी ठगी गरिएको सिआइबीको आरोप छ ।
बैंकले २०८२ असोज ३ गते लिलामीको सूचना निकाल्दै स्मार्ट टेलिकमको नाममा रहेको दूरसञ्चार उपकरण जडित जग्गा तथा घरसँग सम्बन्धित घरधनीहरूलाई कम्पनीले बुझाउन बाँकी रहेको घर बहाल तथा विद्युत् महसुलबापत ४० करोड रुपैयाँसमेत थप गरी एकमुष्ठ रकम कबोल गर्नुपर्ने उल्लेख थियो ।
तर बैंकले लिलाम सकार्ने कम्पनीबाट सबै रकम लिए पनि आजसम्म घरधनीहरूलाई उक्त रकम भुक्तानी नगरेको भन्दै मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान सुरु गरेको थियो ।
उक्त धितो लिलाम बिक्रीका सम्बन्धमा अनुसन्धान गर्दा कैफियत देखिएपछि सिआईबीले पाण्डेमाथि निगरानी गरिरहेको थियो । प्रहरीले निगरानी सुरु गरेपछि इन्भेष्टमेन्ट बैंकका सिईओ पाण्डे मोबाइलको स्विच नै अफ गरी भागेका थिए ।
काठमाडौंबाट भागेर उनी भारततर्फ लाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा सिआईबीको टोलीले पोडेलाई सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ मा पर्ने बसपार्क नजिकै मदनभण्डारी राजमार्गमा सवारी चेकजाँचका क्रममा पक्राउ गरेको थियो ।
पक्राउपछि सिन्धुली प्रहरीले पाण्डेलाई सिआईबीको जिम्मा लगाएको छ । उनीमाथि सिआईबीले अदालतबाट म्याद लिएर थप अनुसन्धान सुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया