सुदिपा अधिकारी
काठमाडौंं । मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनाव र इजरायल–अमेरिका तथा इरानबिचको सैन्य द्वन्द्वका कारण विश्वव्यापीरुपमा इन्धनको आपूर्तिमा समस्या बढिरहेको छ । पछिल्ला केही दिन यता नेपालमा पनि यसको असर प्रत्यक्ष रूपमा देखिन थालेको छ ।
इन्धन संकटको समस्या केही निराकरण गर्न भन्दै सरकारले गत चैत २३ गतेदेखि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा अहिले शनिवार र आइतबार सरकारले सार्वजनिक बिदा दिइरहेको छ । हप्ताको ६ दिनको साटो पाँच दिन कार्यालय खुल्ने तर कार्यालय खुल्ने अवधि भने दैनिक ७ घण्टाबाट बढाएर ८ घण्टा पुराइएको छ । साथै शुक्रबारको हाफ छुट्टी पनि यति बेला बन्द भइसकेको छ ।
सरकारले दुई दिन सार्वजनिक बिदा दिए पनि बजारमा इन्धन खपतमा भने खासै कमी आएको छैन । दुई दिने बिदा लागू भएको १५ दिनको अवधिमा डिजेल खपतमा करिब १३ हजार किलो लिटरको गिरावट आएको छ । निर्माण कार्य र औद्योगिक मेसिनरीको प्रयोग कम हुँदा डिजेल खपत घटेको हो । तर, बिदाका दिनमा निजी सवारी साधन र घुमघाम बढ्दा पेट्रोल खपत भने करिब एक हजार किलो लिटरले बढेको छ । सुरुमा करिब १० प्रतिशत इन्धन खपत कम हुने अनुमान निगमले गरेको भए पनि पेट्रोलको खपत बढेकाले इन्धनको मागमा अपेक्षित कमी भने देखिन्न ।

अहिले नेपाली बजारमा पेट्रोल प्रतिलिटर २१७ रुपैयाँ र डिजेल २२५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्नु र नेपाल सरकारले इन्धनमा लगाउने उच्च भन्सार तथा पूर्वाधार विकास करहरूले गर्दा यहाँको मूल्य अन्य देशको तुलनामा बढी छ ।
के भन्छ आयल निगम ?
नेपाल आयल निगमले दुई दिनको सार्वजनिक बिदापछि यो महिनामा कति इन्धनको खपत भयो भनी मूल्यांकन गर्न अझै दुई–चार हप्ताको बिदा हुनुपर्ने जनाएको छ ।
नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले सरकारले दुई दिनको बिदा दिएपछि अर्थात् गत चैत २२ गते पछिको १५ दिनमा पेट्रोलको खपत बढेको र डिजेलको खपत घटेको बताएका छन् ।

नेपाल आयल निगम प्रवक्ता, मनोजकुमार ठाकुर
‘गत चैत २३ गतेबाट सरकारले दुई दिन सार्वजनिक बिदा दिएपछि बिदा अघिको १५ दिनको इन्धन खपतको तुलनामा गत चैत २२ गते पछि अथवा वैशाख १४ सम्मको खपतमा पेट्रोलमा एक हजार किलोलिटर अर्थात् ३ प्रतिशतले वृद्धि र डिजेलमा करिब १३ हजार किलोलिटर अर्थात् १९ प्रतिशतले कमी आएको छ । महिनाको हकमा भने दुई–चार हप्ताको बिदा हेरी मूल्याङ्कन गर्नुपर्छ,’ उनले भने ।
प्रवक्ता ठाकुरले मध्यपूर्वमा सिर्जित समस्याले नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिमा कमी नभएको बताए । उनका अनुसार नेपालमा खपत हुने परिमाणमै इन्धनको आपूर्ति भइरहेको र दैनिक रूपमा इन्डियन आयल कर्पोरेसन (आईओसी)को सप्लाई काउन्टरसँग कुरा भइरहेकोले इन्धन आपूर्ति पर्याप्त मात्रामा भइरहेको छ । ठाकुरका अनुसार द्वन्द्वका कारण विश्वव्यापीरुपमा इन्धनको मूल्य बढ्दा त्यसको असर नेपालमा पनि परेको छ ।
उनले भने, ‘हामीलाई पर्याप्त मात्रामा इन्धन आपूर्ति भइरहेको छ र यसमा कुनै समस्या छैन । दैनिकरुपमा इन्डियन आयल कर्पोरेसन (आईओसी) को सप्लाई काउन्टरसँग कुरा भइरहेकोले इन्धन आपूर्ति पर्याप्त मात्रामा भइरहेको छ । द्वन्द्वका कारण विश्वव्यापीरुपमा इन्धनको मूल्य बढ्दा त्यसको असर नेपालमा पनि परेको छ ।’
उनका अनुसार नेपालमा पछिल्लो समय इन्धन आपूर्तिमा भन्दा पनि यसको मूल्यले बढी असर गरेको छ । नेपाल इन्धनका लागि पूर्णरुपमा भारतमा निर्भर छ । भारतबाट प्रशोधित तेल मात्र आउने र नेपालमा ढुवानी खर्च बढी भएकाले महँगो पर्ने गरेको कुरा उपभोक्ताले बुझ्नुपर्ने ठाकुरको जिकिर छ ।
ठाकुरले लोकपथसँग भने, ‘द्वन्द्वका कारण पछिल्ला केही दिन यता नेपालमा पनि यसको असर प्रतक्षरुपमा देखिन थालेको छ । यसले क्वान्टीटीमा भन्दा पनि बढी असर मूल्यमा पारेको छ । विश्वमा पेट्रोलको भन्दा पनि डिजेलको माग बढी छ । यसले गर्दा डिजेलको मूल्य बढ्न पुग्यो । अन्तर्राष्ट्रिय स्तरमा प्रशोधित तेलको मूल्य कसरी छ त्यो अनुसार हामीलाई आईओसीले १५/१५ दिनमा अन्तर्राष्ट्रिय प्रशोधित तेलको मूल्य पठाउँछ र त्यही अनुसार नेपालमा मूल्य समायोजन हुन्छ । नेपालमा सरकारले कर कटौती गरे पनि ढुवानी खर्च बढी छ जसका कारण इन्धन महँगो हुन पुग्यो, जुन कुरा उपभोक्ताले पनि बुझ्नुपर्छ ।’
ठाकुरका अनुसार नेपालमा अहिले ७० देखि ८० प्रतिशत इन्धन भण्डारण छ । अन्तर्राष्ट्रिय स्तरमा प्रशोधित तेलको मूल्य उच्च भएको कारण निगमले नेपालमा इन्धन महँगोमा ल्याएर सस्तोमा बेच्नु परेकोले दैनिक रूपमा घाटा ब्यहोर्नु परेको छ । प्रवक्ता ठाकुरका अनुसार निगम अहिले पाक्षिक अर्थात् प्रत्येक १५ दिनमा १ अर्ब ८४ करोड घाटामा छ । सबै भन्दा बढी एलपी ग्यासमा प्रति सिलिन्डरमा एक हजार ७८ रुपैयाँ घाटा छ । यसरी निगमले अहिले वार्षिक करिब ३० अर्ब घाटा व्यहोरिरहेको छ ।

दुई दिन बिदाले आन्तरिक पर्यटनमा वृद्धि
हप्तामा दुई दिनको सार्वजनिक बिदा (शनिबार र आइतबार) ले नेपालको आन्तरिक विभिन्न पर्यटकीय क्षेत्रहरुमा चहलपहल बढेको देखिन्छ । यसले घुमघाम आन्तरिक पर्यटन बढाउनुको साथै होटेल, होमस्टे र समग्र अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गरेको छ ।
नुवाकोट ककनीका होटेल सञ्चालक ज्ञानेन्द्र लोहनीका अनुसार दुई दिने बिदाको व्यवस्थाले होटेलहरूमा करिब १० प्रतिशतले पर्यटकको संख्या बढेको छ । लगातार दुई दिन बिदा हुँदा परिवारसहित घुमघाममा निस्कने प्रवृत्ति बढेकाले पर्यटन व्यवसायीहरू उत्साहित छन् । यसले एक रात बस्ने गरी आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । पोखरा, चितवनका सौराहा, पटिहानी र काठमाडौं नजिकका विभिन्न जिल्लाहरूमा व्यवसाय चलायमान बनाएको छ । नेपालीहरूमा घुमघाम वा भ्रमणको विकास गर्न थप समय र प्रोत्साहन मिलेको छ ।

सवारी चालकहरूमा चिन्ता बढ्दो
इन्धनको मूल्यमा भएको भारी वृद्धिसँगै नेपालका सवारी चालक र यातायात व्यवसायीहरू भने गम्भीर अन्यौल र चिन्तामा परेका छन् । पछिल्लो समय नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३० रुपैयाँसम्म वृद्धि गरेपछि सवारी सञ्चालन खर्च धान्नै नसकिने अवस्थामा पुगेको चालकहरूको गुनासो छ ।
पछिल्लो समायोजनसँगै डिजेलको मूल्य प्रतिलिटर २२५ रुपैयाँ पुगेको छ । यातायात व्यवसायीहरूका अनुसार इन्धनको मूल्यमा भएको यो वृद्धिले सञ्चालन खर्च ३० प्रतिशतभन्दा बढीले बढेको छ ।

इन्धनको मूल्य वृद्धिसँगै सरकारले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडामा ५ प्रतिशतले वृद्धि गरेको छ । तर चालकहरू भने यो वृद्धि पर्याप्त नभएको दाबी गर्छन् । पटक–पटकको मूल्य वृद्धिले गर्दा भाडा दर स्थिर नहुँदा यात्रुसँग विवाद हुने र व्यवसाय नै घाटामा जाने डरले कतिपय चालकले सवारी साधन ‘ग्यारेज’ मा थन्क्याउनुपर्ने स्थिति आएको बताउँछन् ।
आफैँले गाडी किनेर चलाउने वा किस्ता बुझाउनुपर्ने चालकहरू सबैभन्दा बढी मारमा परेका छन् । इन्धनमा बढी खर्च हुँदा घर खर्च चलाउन र बैंकको किस्ता तिर्न धौ–धौ परेको बताउँछन् । ट्याक्सी चालक केशव बहादुर मगरले भने ‘हामी जस्ता किस्तामा गाडी लिनेलाई धेरै गाह्रो भएको छ । नेपालमै केही गर्छु भनेर विदेश नगई बस्दा इन्धन महँगो भएर गाह्रो भयो ।’
अन्ततः उपभोक्ता नै मारमा
मध्यपूर्व तनावपछि नेपालमा दक्षिण एसियामै सबैभन्दा महँगो इन्धन मूल्य कायम रहँदा यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिकीमा परिरहेको छ । इन्धनको मूल्यवृद्धिसँगै सवारी साधनको भाडासमेत ५ प्रतिशतले बढेको छ, जसले दैनिक यात्रा गर्ने निम्न र मध्यम वर्गीय मानिसहरूलाई प्रत्यक्ष असर गर्छ । सामान ओसारपसार गर्ने ट्रक र गाडीको भाडा बढ्ने बित्तिकै चामल, दाल, तेलदेखि तरकारीसम्मको बजार भाउ आकासिन्छ ।

पेट्रोल, डिजेल तथा खाना पकाउने ग्यासको मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर न्यून आय भएका उपभोक्तामा परेको देखिन्छ । त्यस्तै विद्यार्थीहरूलाई समेत असर परेको छ । केही ठाउँमा चालकहरूले विद्यार्थी सहुलियत दिन समेत आनाकानी गर्न थालेका छन् । केही सवारी चालकहरूले इन्धनको मूल्य बढेको भन्दै मनलाग्दी भाडासमेत लिने गरेको पाएको छ । लगातारको मूल्यवृद्धिका कारण आम उपभोक्ता नै मारमा परेका छन् ।
इन्धन महँगो भएपछि उत्पादन लागत बढ्छ, जसले गर्दा बजारमा उपलब्ध हरेक वस्तु र सेवाको मूल्य बढ्न जान्छ, तर मानिसहरूको आम्दानी भने सोही अनुपातमा बढ्दैन । नेपाल जस्तो आयातमा निर्भर देशमा अन्तर्राष्ट्रिय बजारमा हुने फेरबदलले सर्वसाधारणको दैनिक जीवन कष्टकर बनाइदिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया