काठमाडौं । सशस्त्र प्रहरीका निवर्तमान महानिरीक्षक राजु अर्यालले असन्तुष्ट हुने व्यक्तिलाई प्रहरी वा सेक्युरिटी एजेन्सीमा बस्ने अधिकार नहुने बताएका छन् । सेक्युरिटी एजेन्सीमा बस्ने व्यक्ति खुसी भएर बस्नुपर्ने भन्दै असन्तुष्टि भएमा पद छाडेर जानुपर्ने बताएका हुन् ।
सशस्त्र प्रहरी महानिरीक्षक ४ वर्षे पदावधि पूरा गरी शनिवारबाट अनिवार्य अवकाशमा गएका निवर्तमान सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले लोकपथसँगको अन्तरवार्ताका क्रममा असन्तुष्ट हुने व्यक्तिहरू प्रहरी वा सेक्युरिटी एजेन्सीमा बस्नु नै अनुपयुक्त हुने बताएका हुन् ।
सशस्त्र प्रहरीमा पनि बढुवा हुँदा आफ्नालाई च्याप्ने र अरूलाई छाड्ने गरेर गुनासो सुनिन्छ किन त्यस्तो हुन्छ भन्ने लोकपथको प्रश्नमा अर्यालले वरिष्ठता र कार्य सम्पादन मूल्यांकन दुवै हेर्नुपर्ने भन्दै त्यसैका आधारमा बढुवा हुने भएकाले त्यो सबैले बुझ्नुपर्ने बताउँदै त्यस्तो बताएका हुन् ।
अर्याल सशस्त्र प्रहरीमा स्थानान्तरण भए लगत्तै पहिलो नम्बरमा रहँदै आएका थिए । आफ्नो कार्यकालमा अर्यालले सधैँ वरिष्ठताको आधारमा बढुवाको वकालत गर्दै आइरहेका थिए । तर आफू आईजीपी भएपछि भने पछाडि रहेका केही व्यक्तिहरूलाई अगाडि तानेर बढुवा गरेका थिए ।
सोही सम्बन्धमा भएको कुराकानीमा निवर्तमान महानिरीक्षक अर्यालले बढुवामा आईजीपीको मात्रै भूमिका नरहने भन्दै कार्य सम्पादन मूल्यांकन सबैभन्दा महत्त्वपूर्ण हुने बताए । कार्य सम्पादन मूल्यांकनमा महानिरीक्षकको भूमिका नरहने भन्दै सम्बन्धित कार्यालय प्रमुख वा विभागीय प्रमुखले नै कार्य सम्पादनमा नम्बर दिई बन्द सूचीमा राखिने भएकाले त्यो विषय समेत महत्त्वपूर्ण हुने बताए ।

बढुवामा पछाडि परेका व्यक्तिहरूले कहिलेकाहीँ नेतृत्व वा सरकार प्रमुख वा राजनीतिक नेतृत्वप्रति गुनासो गर्ने र पैसा दिन नसकेको कारण बढुवा नभएको भन्दै आरोप लगाउने गरेको प्रश्नमा प्रतिक्रिया दिँदै अर्यालले भने असन्तुष्टहरू सेक्युरिटी एजेन्सीमा बसेर काम नै गर्न नहुने बताएका हुन् ।
अर्यालले भने, ‘बढुवा भनेको लिमिट पद हुन्छ । पद लिमिट भएकाले जो मान्छे जुन पदमा छ, त्यो पदमा खुसी भएर बस्नुपर्छ, खुसी भएन भने जानुपर्छ । असन्तुष्ट भएर, दुःखी भएर सेक्युरिटी एजेन्सीमा बस्ने अधिकार रहन्न, कसैको पनि रहन्न । यो कुरामा चाहिँ हामीले विचार गर्नुपर्छ ।’
अर्यालले अगाडि भने, ‘माथिको पदमा धेरै बस्ने होइन, त्यो चाहिँ सम्मानको पद हो र त्यहाँ धेरै दुःख गरेर आएको हुन्छ । अरूले आठ घण्टा ड्युटी गर्छ, हाम्रो मान्छेले २४ घण्टा ड्युटी गर्छ । खास भन्ने हो भने त हाम्रो तलब नै तीन गुणा हुनुपर्ने हो । तर अब देशको आर्थिक अवस्था यस्तो छ, मैले माग्न खोजेको त होइन कि दुःख त्यति धेरै छ भनेको हो । कम्तीमा प्रहरीलाई सम्मान त गरिदिए हुन्थ्यो नि भन्ने कुराचाहिँ म गर्छु । किनभने युनिफर्म लगाएर बाटोमा बसिरा’छ भनेपछि नागरिकले पनि रेस्पेक्ट त दिनुपर्छ नि । किनभने रेस्पेक्ट दिइसकेपछि त्यसको कार्यसम्पादन पनि राम्रो हुन्छ । ए म यसरी खट्या छु मैले कम्तीमा सम्मान त पाएको छु नि भन्छ नि । अनि एक सय जना युनिफर्मवालामा एउटाले गल्ती गर्यो भने बाँकी ९९ जनाले पनि गल्ती गरेको देखिन्छ, त्यो कुरामा सुधार गर्नुपर्छ हामीले । अब समाजमा, परिवारमा, आफ्नो नातागोतामा कोहीले क्राइम पनि गरेका होलान्, तर सबैले क्राइम गरे भन्न त मिलेन नि ।’
आईजीपीमा नियुक्त भएको ४ वर्षपछि २०८३ वैशाख १८ गतेबाट उनी अनिवार्यमा अवकाशमा गएका थिए । नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका अर्यालले २८ वर्ष १ महिना प्रहरी सेवामा बिताएका थिए । ५२ वर्षको उमेरमा अर्याल सशस्त्र प्रहरीको सर्वोच्च पदमा पुगेर अवकाशमा गएका हुन् ।
निवर्तमान सशस्त्र प्रहरी महानिरीक्षक अर्यालसँगको कुराकानीको पूरा अंश केही समयमा लोकपथमा प्रकाशन हुनेछ ।
यसअघि प्रकाशित यो पनि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया