काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण अभियान सुरु गर्ने भएको छ ।
सहरी विकासमन्त्री सुनील लम्सालका अनुसार पहिलो चरणमा थापाथली, सिनामंगल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती स्थानान्तरण गरिसकिएकाले अब दोस्रो चरणको काम अघि बढाउन लागिएको हो ।
बस्ती स्थानान्तरणलाई व्यवस्थित बनाउन बिहीबार सहरी विकास मन्त्रालयमा विभिन्न सरकारी निकायको संयुक्त बैठक बसेको थियो । बैठकले आवश्यक तयारी पूरा भएको निष्कर्ष निकालेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई बसमार्फत प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ रंगशालामा ल्याइनेछ । त्यहाँ सूचना तथा तथ्यांक संकलन, सुकुमबासी पहिचानका लागि स्वघोषणा फारम भर्ने तथा गृह मन्त्रालयको टोलीमार्फत डिजिटल तथ्यांक संकलनका लागि तीनवटा सहायता कक्ष सञ्चालन गरिनेछन् ।
होल्डिङ सेन्टरमा लैजान नसकिने दराज, खाट, टेबुललगायतका सरसामानको भण्डारण तथा सुरक्षाका लागि सुरक्षा निकाय परिचालन गरिने मन्त्रालयले जनाएको छ ।
आश्रयस्थल नभएका वा आफैँ व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्याउन बसको व्यवस्था पनि गरिएको छ ।
सरकारले प्राथमिक दर्ता केन्द्र र होल्डिङ सेन्टर दुवै स्थानमा स्वास्थ्य सेवा, मानवीय सहायता तथा मनोपरामर्श सेवा उपलब्ध गराउने जनाएको छ । संकलित विवरणका आधारमा सुकुमबासीको पहिचान तथा प्रमाणीकरण गरिनेछ । पहिचान हुन नसकेका व्यक्तिलाई भने होल्डिङ सेन्टरबाट फिर्ता पठाइने मन्त्रालयले स्पष्ट पारेको छ ।
पहिचान भएका परिवारलाई निश्चित अवधिसम्म आवश्यक सहयोग उपलब्ध गराइने र पुनःस्थापनाका लागि थप प्रक्रिया अघि बढाइने जनाइएको छ । साथै नदी किनार अतिक्रमण गरी भाडा वा व्यापार सञ्चालन गरेका तथा गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिमाथि छानबिन गरी दोषी ठहरिए कानुनी कारबाही गरिने मन्त्रालयले जनाएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै नदी किनार, सरकारी, पर्ती, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा खाली गर्न आग्रह गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार उच्च जोखिममा रहेका ती बस्ती खाली गर्ने कार्य शुक्रबार बिहान ७ बजेदेखि सुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया