काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
खड्काकी पत्नी विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले यस्तो आदेश दिएको हो ।
खड्कामाथि अनुसन्धान गर्न गत चैत १५ गते प्रहरीले पक्राउ गरेको थियो । सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागको पत्रकार आधारमा प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।
तत्कालीन समयमा उर्जामन्त्री रहेका खड्काको भदौ २४ को जेनजी आन्दोलनका क्रममा घरमा ठूलो संख्यामा नगद देखिएको थियो ।
जेनजी आन्दोलनका क्रममा निशानामा परेका खड्काको घर समेत प्रदर्शनकारीले तोडफोड गरेका थिए । सो क्रममा उनको घरबाट नेपाली र विदेशी नोटहरु समेत जलेको पाइएपछि अनुसन्धान अघि बढाइएको हो ।
बालेन नेतृत्वको सरकार आएपछि उनीमाथि छानबिन अघि बढाइएको हो । उनलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको भन्दै उनकी पत्नीले थुनामुक्त गरेर अनुसन्धान गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् । तर सर्वोच्चले त्यसलाई अस्वीकार गरेको हो ।
त्यस्तै उक्त रिटमा वैशाख ३ गतेका लागि पेशी तोकिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया