बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई जना घाइते

लोकपथ
0
Shares

जनकपुरधाम । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

सबैलाबाट धनुषाधामतर्फ जाँदैगरेको मधेश प्रदेश ०२–०१ प ६४४९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदैगरेको ना ६ ख ९०३१ नम्बरको बसले गएराति ठक्कर दिँदा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका ७ निवासी २० वर्षीय धिरज मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार दुर्घटनामा गम्भीर घाइते धिरजलाई तत्काल उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याएकोमा तत्काल चिकित्सकले मृत घोषणा गरेको हो ।

सोही दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार १६ वर्षीय निरज मण्डल र लक्ष्मीनियाँ गाउँपालिका २ निवासी २० वर्षीय राकेश मण्डल घाइते भएको प्रहरी नायव उपरीक्षक खनालले बताए ।

घाइतेमध्ये निरजको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । घाइते दुबै जनाको जनकपुरधामस्थित योगी ट्रमा सेन्टर अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बस र चालक धनुषाधाम नगरपालिका २ निवासी २२ वर्षीय नागेन्द्र महरालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?