काठमाडौं । मिथिला र मधेस क्षेत्रमा आज जुड शीतल पर्व श्रद्धा, परम्परा र सांस्कृतिक उत्साहका साथ मनाइँदैछ । नयाँ वर्षको दोस्रो दिन मनाइने यो पर्व प्रकृति, सामाजिकता, भाइचारा र सहअस्तित्वको गहिरो सन्देश बोकेको महत्त्वपूर्ण सांस्कृतिक पर्वका रूपमा परिचित छ ।
छठ, चौरचन र होलीजस्तै जुड शीतल पनि प्रकृतिसँग नजिक रहेर मनाइने पर्व हो । यस अवसरमा परिवारका ठुला–बडाले सानालाई टाउकोमा पानी खन्याई आशीर्वाद दिने तथा अनुहारमा माटो लगाएर खुसी साटासाट गर्ने परम्परा रहिआएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाकाका अनुसार अनुहारमा लगाइने माटोले कुनै जात, लिङ्ग वा धर्मको भेद नगरी सम्पूर्ण समाजको एकता र समानताको सन्देश दिन्छ । यो पर्वले सामाजिक सद्भाव र सहअस्तित्वलाई अझ मजबुत बनाउने विश्वास गरिन्छ ।
गर्मी मौसमको सुरुवातसँगै इनार, पोखरी र तलाउहरू सफा गर्ने तथा जल सञ्चय गर्ने अभ्यास पनि यस पर्वसँग जोडिएको छ । स्थानीय बासिन्दाहरूका अनुसार यो पर्व प्रकृतिसँगको सम्बन्धलाई पुनः नवीकरण गर्ने उत्सवका रूपमा पनि मनाइन्छ ।
मिथिलाञ्चलको माटोको ऐतिहासिक र सांस्कृतिक महत्त्व विशेष मानिन्छ । धार्मिक मान्यताअनुसार यही भूमिसँग माता सीताको उत्पत्ति जोडिएको उल्लेख गरिन्छ, जसले यहाँका बासिन्दामा विशेष गौरवको अनुभूति दिलाउने गर्छ ।
हजारौँ वर्ष पुरानो परम्परा केही समय ओझेलमा परे पनि पछिल्ला वर्षहरूमा यसलाई पुनः संस्थागत रूपमा प्रवर्द्धन गर्न थालिएको स्थानीयहरू बताउँछन् ।
जुड शीतललाई मानव शरीर पञ्चतत्व (पृथ्वी, जल, तेज, वायु र आकाश) बाट बनेको मान्यतासँग पनि जोडिन्छ । माटोले शीतलता प्रदान गर्ने भएकाले गर्मीबाट बच्न यसको सांस्कृतिक र व्यवहारिक महत्त्व रहेको विश्वास गरिन्छ ।
पुरानो समयमा यस पर्वलाई ‘धुर्खेल’ अर्थात् माटो र धुलोको खेलका रूपमा पनि मनाइने गरिएको थियो । विशेषगरी आफन्त र ससुरालीमा भेटघाट गर्दै माटो खेल्ने, रमाइलो गर्ने परम्परा रहेको उल्लेख पाइन्छ ।
पूर्खाहरूले घर–घरमा सबैलाई ‘जुडाउने’ अर्थात् शीतल बनाउने उद्देश्यले तिल मिसाएको जलले टाउकोमा आशीर्वाद दिने परम्पराले आत्मीयता र पारिवारिक सम्बन्धको महत्वलाई झल्काउँछ ।
यस पर्वले प्रकृति संरक्षण, सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिँदै मिथिला–मधेसको मौलिक पहिचानलाई उजागर गर्ने विश्वास गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया